नेभिगेशन
अर्थतन्त्र

भारतद्वारा नेपाललाई १० बेलीब्रिज

काठमाडौं । भारतले नेपाललाई १० वटा बेलीब्रिज (फलामे पुल) दिएको छ । बाढीपहिरोले क्षतविक्षत सडक सञ्जाललाई जोड्न नेपाल सरकारको अनुरोधमा बेलीब्रिज उपलब्ध गराएको हो । भारतले गत वर्ष पनि बाढीग्रस्त क्षेत्रका लागि १० वटा बेलीब्रिज अनुदान दिएको थियो ।

भारतले उपलब्ध गराउने १० वटामध्ये एउटा बेलीब्रिजका उपकरण बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी ९ वटा एक साताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौंडामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरे ।

सहयोगमा प्राप्त बेलीब्रिजको लम्बाइ ७० मिटर र चौडाइ सिंगल लेन ४.२५ मिटर छ । पुलको भारवहन क्षमता ३८ मेट्रिक टन छ ।

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका बेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनःस्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए ।

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदारी अझै दह्रो देखिएको उल्लेख गरे ।

समारोहमा राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न भारत सधैं तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेलीब्रिजको केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनोट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीले प्राकृतिक विपद्ले क्षति पुर्याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र