नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकको सफ्टपोस सेवा सुरु

स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्त्वपूर्ण कदम अघि बढाएको छ । यसमा ग्राहकले भुक्तानी कारोबार गर्न एफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनका रूपमा प्रयोग गर्न सकिनेछ ।

बैंकका अनुसार यो सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उद्यम र उद्यमहरूसँगै अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्ने छन् । यसको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झञ्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले सफ्टपोस सेवा केवल नयाँ प्रविधि नभई नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठूलो पाइला भएको बताए । ‘हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ,’ उनले भने ।

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ । यस सेवाको सुरुवातसँगै, एनएमबि बैंकले डिजिटल बैंकिङमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रस्ट पारेको छ । एनएमबि बैंकले हाल देशभरका २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय कारोबारको सेवा दिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र