नेभिगेशन
राजनीति

मुठभेडतर्फ एमाले

काठमाडौं । सरकारले घोषणा गरेको निर्वाचनको विपक्षमा उभिएको नेकपा एमाले सरकारविरुद्ध आक्रामक देखिएको छ । सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै आएको एमालेले विगतको ‘युथ फोर्स’को झल्को दिने गरी नेसनल युथ भोलेन्टियर फोर्स गठन गरेको छ । एमाले समर्थक युवाहरूको संगठन युवा संघ नेपाल हुँदाहुँदै अर्को युवा दस्ता गठन गर्नुलाई एमाले मुठभेडतर्फ उन्मुख भएका रूपमा हेरिएको छ । 

एमालेले बबरमहलदेखि माइतीघर मण्डलासम्म जुलुस निकाल्दै शक्ति प्रदर्शनपछि शुक्रबार काठमाडौंको एक बैंक्वेटबाट फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्‍यो । सिन्धुलीका पुष्प श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय कमाण्ड गठन भएको एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले घोषणा गरे । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको युथ भोलेन्टियर फोर्स राष्ट्रको हितका निम्ति गठन गरिएको दाबी गरे । ‘यो सन्देशसँग नाखुस पनि कतिपय हुन सक्दछन्,’ ओलीले भने, ‘यो स्वयंसेवक फोर्स कसैको अहित गर्न गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो ।’ उनले एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति राख्नेहरूको पनि जिउधन, अधिकारको रक्षा गर्ने कामका लागि यो गठन भएको दाबी गरे । 
‘यसको अस्तित्व र विकाससँग कोही पनि आत्तिन पर्दैन, तर्सिन पर्दैन,’ ओलीले भने । उनले शान्ति सुव्यवस्थाका निम्ति फोर्स गठन गरिएको जिकिर गरे । राज्यले मात्र शान्ति सुव्यवस्था दिने अवस्था नरहेको उनको भनाइ थियो । 

तर, सुरक्षा मामलाका जानकारहरू भने राज्यका सुरक्षा निकाय हुँदाहुँदै राजनीतिक दलहरूले यस्तो फोर्स गठन गर्दा सुरक्षा चुनौती थपिने बताउँछन् । विगतमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसियल)को दबदबा रहेका बेला एमालेले युथ फोर्स गठन गरेर प्रतिकारमा उत्रिएको थियो । सो क्रममा कयौं पटक दुई समूहबीच झडपको अवस्था आएको थियो । सुरक्षा मामलाका जानकारहरू जेनजी आन्दोलनपछि एमाले प्रतिरक्षात्मक बनिरहेका बेला लडाकु दस्ता निर्माणले सुरक्षा चुनौती थपिने बताउँछन् ।

देशको तरल अवस्थामा यसरी नै सबै पार्टीले आफ्ना लडाकू दस्ता निर्माण गर्दै जाने हो भने अवस्था सम्हाली नसक्नुको हुने विश्लेषकहरूको भनाइ छ । 

‘माओवादीको दबदबा रहेका बेला त्यसलाई प्रतिकार गर्न एमालेले युथ फोर्स गठन गरेको थियो,’ सुरक्षा मामलाका जानकार पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘त्यसको परिणाम के भयो ? थाहै छ । ओलीजी पछिल्ला दिनमा जुन आक्रामकताका साथ आइरहनुभएको छ, यसले समस्या मात्र थप्छ । भिडन्त निम्त्याउँछ । देश शान्तिपूर्ण बाटोभन्दा मुठभेडतर्फ उन्मुख हुन्छ ।’

तत्कालीन युथ फोर्सका अध्यक्ष रहेका एमाले नेता महेश बस्नेतकै सक्रियतामा अहिले भोलेन्टियर फोर्स गठन भएको छ । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेसनल युथ भोलेन्टियर फोर्स पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन भएको बताएका छन् । ‘अबको दिनमा सिंहदरबार जल्ने छैन, राज्यका सम्पत्ति र उद्योग धन्दा जल्न पाउने छैन । एमालेको शुभचिन्तक र नेतालाई तह लगाउन खोज्ने चोर, डाँका, लुटेरा र आगजनी गर्नेहरूलाई ठाउँका ठाउँ प्रतिरोध गरेर ठीक पार्ने छौं,’ नेता बस्नेतले भने । उनले अब भोलेन्टियर फोर्सले खोसिएका हतियार फिर्ता गर्न र भागेका कैदी ल्याउन सहयोग गर्ने दाबीसमेत गरे ।

एमालेको फोर्सको कमाण्डर पुष्पराज श्रेष्ठलाई बनाएको छ । उनले घोषणासभाबाटै आफूहरू लड्नभिड्न तयार रहेको बताए । ‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर जहाँबाट लड्न भिड्न पर्छ, त्यसका लागि तयार छौं ,’ श्रेष्ठले भने । उनले सरकार नसच्चिए प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् । 

अवरोधपछि फोर्स गठन
जेनजी आन्दोलनपछि रक्षात्मक बनेको एमाले शक्ति आर्जनको प्रयासमा देखिन्छ । देशभर वडा तहसम्म कार्यक्रम गरेर पार्टीलाई पुनर्जागृत गरिररहेको एमाले बाराको परवानीपुरमा बुधबार आयोजित कार्यक्रममा जेनजी समूहले अवरोध गर्‍यो । एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत काठमाडौं विमानस्थलबाटै फर्किनुपरेको थियो । सो घटनापछि सरकारसँग थप आक्रोशित बनेको एमालेले फोर्स गठन गरेर अब प्रतिवादमा उत्रने सन्देश दिएको छ । सडकमा हुने अवरोध र चुनौती सामना गर्न उसले फोर्स गठन गरेको हो । 

नवगठित फोर्सका कमाण्डर तोकिएका श्रेष्ठले पनि फोर्स गठनको उद्देश्य जेनजीका नाममा भइरहेको अवरोध हटाउनु रहेको बताएका छन् । ‘ठाउँ–ठाउँमा हाम्रो कार्यक्रम गरेका ठाउँमा, हाम्रो नेताहरू गएका ठाउँमा रोक्ने काम गरेका छन्,’ कमाण्डर श्रेष्ठले भने, ‘डिस्टर्ब गर्ने काम भइरहेका छन् । अस्ति सिमरा एयरपोर्टमा पाँच, दश जना जेनजीको नामबाट झुण्ड परिचालित भएको थियो । त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आयो भने जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घरघर घेर्नेछौं ।’ 

फोर्स कमाण्डरको पृष्ठभूमि आपराधिक
भोलेन्टियर फोर्सका कमाण्डर तोकिएका सिन्धुलीका पुष्पराज श्रेष्ठको पृष्ठभूमि आपराधिक देखिएको छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको पाइएको छ । उनीविरुद्ध चार वटा ज्यान मार्ने उद्योगको कसुर, दुई वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र एउटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएकोे छ । 

माइतीघरमा जेनजीको धर्ना 
जेनजी आन्दोलनकै कारण सरकारबाट बाहिरिएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने तयारी गरिरहेका बेला जेनजी आन्दोलनका घाइतेहरू भने माइतीघर मण्डलामै धर्नामा बसे । भदौ २३ र २४ को घटनामा घाइते भएका जेनजीहरू एमाले नेता–कार्यकर्ता पुग्नुअगावै माइतीघरमा धर्नामा बसेका थिए । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेनजीको माग पूरा भएको खै ? भन्ने प्रश्नसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति