काठमाडौं । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । क्यूआर कोडयुक्त नयाँ स्मार्ट लाइसेन्सको सफल परीक्षणसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले शुक्रबार विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई ५२० थान लाइसेन्स हस्तान्तरण गरेका हुन् ।
दोस्रो चरणका करिब एक हजार २०० आवेदकको विवरण केन्द्रमा पुगेको र त्यसको छपाइ भइरहेको केन्द्रले जनाएको छ । ढुंगानाका अनुसार विभागले उपलब्ध गराएको तथ्यांकका आधारमा छपाइलाई निरन्तर तीव्रता दिइनेछ । उनले लाइसेन्स छपाइपछिको गुणस्तर परीक्षण नेपालमै रहेको प्रयोगशालामा सफल भएपछि विभागलाई बुझाइएको जानकारी दिए ।
विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट लाइसेन्स प्राप्त भएसँगै विभागमा विगत चार–पाँच वर्षदेखिको समस्याको समाधान भएको बताए । ‘समस्या समाधान भएको छ, विभागमा विगत चार/पाँच वर्षदेखि लाइसेन्सको समस्या थियो, अब कार्यलाई निरन्तरता दिनेछौं,’ उनले भने ।
लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार ६ महिनाभित्र १२ लाख थान लाइसेन्स उपलब्ध गराउने लक्ष्य छ । विभागले वैकल्पिक सफ्टवेयरमार्फत दैनिक करिब २ हजार विवरण केन्द्रलाई पठाउन सकिने जनाएको छ ।
पनौती नगरपालिका वडा नम्बर ५ स्थित केन्द्रको भवनमा कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रिन्टिङ प्रेसको बटन थिचेर छपाइको औपचारिक शुभारम्भ गरेका थिए ।
नयाँ कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । ३४ प्रकारका दृश्य तथा अदृश्य सुरक्षा विशेषतासहित ६ तहसम्म सुरक्षात्मक प्रविधि रहने केन्द्रले जनाएको छ ।
जानकारी फेसबुकबाट दिइने
यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ ।
विभागले सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका लाइसेन्सको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको छ ।
विभागले जारी गरको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फारम भरी ‘एप्रुभ’ भएपश्चात् ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भन्ने जानकारी यसअघि प्रणाली ध्वस्त हुनुअघि आउने गरको थियो । अब सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने छ ।’ यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो । तर जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो । फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदनहरू सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरको छ ।