नेभिगेशन
अर्थतन्त्र

नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार शेयर निष्कासनको अनुमति प्रदान गरेको छ । यो शेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो ।

परिपत्र विधिबाट निष्कासन हुने यो शेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् भने व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो शेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ । नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकाले यसलाई असंचिति प्रकृतिको अग्राधिकार शेयर भनिएको हो ।

खासगरी २००७–०९ को विश्वव्यापी वित्तीय संकटको अनुभवपश्चात् वित्तीय संस्थाको पुँजीगत संरचनालाई सदृढ बनाउन यस्तो उपकरण अन्तर्राष्ट्रिय पुँजी बजारमा प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा नेपालमा भने पहिलोपटक निष्कासन हुन लागेको हो ।

बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक वित्तीय संस्थालाई मात्र यस्तो उपकरण निष्कासनको अनुमति प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यो उपकरण दोस्रो बजारमा सूचिकरण हुने हुँदा संस्थागत लगानीकर्ताले दोस्रो बजारमा समेत कारोबार गर्न सक्नेछन् ।

अग्राधिकार शेयरधनीमा निहित अधिकारहरू भने विवरणपत्रमा कम्पनीले उल्लेख गरे बमोजिम हुनेछ । कम्पनी विघटनको समयमा यस शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि र कम्पनीको साहू, निक्षेपकर्ता र पूरक पूँजीभन्दा पछाडि रहन्छ ।

यो उपकरणले बैंक तथा वित्तीय संस्थालाई दबाब परेको समयमा पुँजीगत संरचना सुदृढ बनाउने हुँदा वित्तीय संकटको जोखिमलाई न्यूनिकरण गर्ने र वित्तीय प्रणालीलाई स्थायित्व प्रदान गर्न सहज पुग्न सक्ने देखिन्छ ।

साथै, लगानीकर्तालाई पनि लगानीको नयाँ उपकरण उपलब्ध हुनेछ । यद्यपि, यो शेयर अविमोच्य र अंसचिति प्रकृतिको भएकोले संस्थागत लगानीकर्ताले लगानी गर्नु अगाडि विवरण पत्र र रिस्क डिस्क्लोजर स्टेटमेन्ट राम्रोसँग अध्ययन गर्नु अनिवार्य छ । साथै, आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता हेरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र