नेभिगेशन
अर्थतन्त्र

नेपालमा पहिलो पटक ग्लोबल म्याथ डिबेट लिग

काठमाडौं । नेपालमा पहिलोपटक ग्लोबल म्याथ डिबेट लिग आयोजना हुने भएको छ । एम्बार्क अनम्याथले जनवरी २०२६ मा हुन लागेको यो कार्यक्रम नेपालमा ल्याउन लागेको हो, जसले गणितीय सोच र बहसलाई एउटै मञ्चमा प्रस्तुत गर्दै विद्यार्थीहरूलाई नयाँ अनुभूति दिनेछ । कार्यक्रमको नलेज पार्टनरका रूपमा ब्रिटानिका एजुकेशन सहभागी भएको छ ।

गणितलाई तथ्य, सूत्र र गणनाभन्दा धेरै ठूलो सोच र संवादको भाषाका रूपमा चिनाउने उद्देश्य राख्दै सुरु गरिएको लिगले विद्यार्थीहरूलाई तार्किक विचार, बहस, अभिव्यक्ति र दैनन्दिन जीवनसँग गणितको सम्बन्ध बुझ्न प्रोत्साहित गर्नेछ ।

एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बथिजाले भने, ‘ग्लोबल म्याथ डिबेट लिग गणितलाई परम्परागत सीमाबाट बाहिर ल्याउने प्रयास हो । यहाँ विद्यार्थीले बहसमार्फत विचार आदान–प्रदान गर्छन्, आफूलाई चुनौती दिन्छन् र गणितलाई नयाँ दृष्टिकोणले अनुभव गर्छन् ।’

देशभरका विभिन्न विद्यालयका ५,००० भन्दा बढी विद्यार्थीहरू तीन चरण—स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल—मार्फत प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

२५० वर्षको ज्ञान–अनुभवसहित डिजिटल शिक्षण सामग्रीमा बलियो उपस्थिति बनाउँदै आएको ब्रिटानिका एजुकेशनले कार्यक्रममार्फत नेपालका विद्यालयमा सिकाइलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने बताइएको छ । आधुनिक शिक्षण उपकरण, पाठ्यक्रमसँग मिल्दोजुल्दो सामग्री र शिक्षकहरूका लागि व्यावसायिक विकास कार्यक्रममार्फत उनीहरूले विद्यालयहरूलाई जिज्ञासा र आलोचनात्मक सोच प्रोत्साहित गर्ने वातावरण निर्माणमा मद्दत गर्दै आएका छन् ।

सन् २०१२ मा स्थापना भएको अनम्याथ स्कूल गणित शिक्षणमा नवीनता ल्याउने अग्रणी संस्था हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र