नेभिगेशन
राजनीति

एमाले संसद् पुनःस्थापनाकै पक्षमा

ओली भन्छन् – सरकारलाई चुनाव गराउने अधिकार छैन

काठमाडौं (संवाददाता)– बिगतको सत्ता साझेदार कांग्रेसले प्रतिनिधि सभाको घोषित निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेकै दिन  एमालेले भने संसद् पुनःस्थापाकै माग दोहो¥याएको छ । 

काठमाडौंमा शनिबार प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित  सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको दोहो¥याए । संसद् अनुचित ढंगले विघटन भएको दाबी गर्दै उनले पुनःस्थापना हुनुपर्नेमा जोड दिए ।

संसदको पुनःस्थापनापछि सर्वदलीय, सर्वपक्षीय सरकार बनाएर संविधान संशोधन गर्न सकिने ओलीको भनाइ छ । ‘संविधान संशोधन नभई थुप्रै कुरा समाधान गर्न सकिँदैन भने सबैको सहमतिमा संविधान संशोधन गरौँला,’ उनले भने, ‘पुनःस्थापित संसद्ले जेनजीका माग पुरा गर्ने बाटो खुल्छ । संविधान ट्रयाकमा आउने र संविधान रक्षाको बाटोमा हामी अगाडि बढ्न सक्छौँ ।’

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा अडान राखेका अध्यक्ष ओली फागुन २१ गतेको निर्वाचनको भने विपक्षमा उभिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने अधिकार नै नभएको बताएका छन् । ‘अनधिकृत व्यक्तिको अराजकतामा आधारित उत्पातबाट सृजना भएको सरकार चलिराख्या छ । यस्तो हुनुहुँदैन,’ उनले भने, ‘फागुन २१ गते चुनाव गराउँछन् भन्नुहुन्छ । ढाँट कुरा गर्नुहोला । त्यो चुनाव गराउने अधिकार पनि तपाईलाई छैन । को हो तपाई चुनाव गराउने ? कल्ले अधिकार दियो चुनाव गराउने ?’ संविधान र लोकतन्त्र अनुसार अहिलेको सरकार चल्ने हो भने तत्काल कार्की सरकार हट्नुपर्ने ओलीको भनाइ छ ।  

सभालाई समबोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले पनि मुलुकलाई लोकतन्त्रको दिशामा अघि बढाउन प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य रहेको बताए । २०५८ मा विघटन भएको संसद् २०६३ सालमा सडक प्रदर्शनमार्फत पुनःस्थापना भएको र त्यसपछिका घटनामा पनि विघटन भएको संसदलाई सर्वोच्च अदालतले सच्याएको चर्चा गर्दै उनले जननिर्वाचित संसद्बाटै सबैका मागहरू सम्बोधन हुने र त्यो नै वैधानिक बाटो हुने जिकिर उनले गरे । 

संसद् विघटन असंवैधानिक भनेको एमाले प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत जाने तयारीमा छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्