नेभिगेशन
राजनीति

दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशले दुर्गा प्रसाईं रिहा भएका छन् । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रसाईंलाई शान्ति सुरक्षा खललको कसुरमा प्रहरीले गत सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई थुनामा राख्न प्रहरीले जिल्ला प्रशासनको अनुमति लिएको थियो ।

छोरा निराजनले गत बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन र कारण देखाउन आदेश दिएको थियो ।

सुवेदी र पौडेलको इजलासले आइतबार प्रसाईंले राखेका आफ्ना मागबारे अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्न नमिल्ने व्याख्या गरेको हो । अदालतको आदेशमा भनिएको छ, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नु वा थुनामा राख्नु निवेदकको संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुन जाने र प्रसाईंको उक्त कार्य नेपालको संविधान आत्मसात् गरेको मानवअधिकार, मौलिक हक तथा लोकतान्त्रिक पद्धतिको मूल्यमान्यता अनुकूलसमेत देखिन नआएबाट निवेदकको थुनालाई कानून बमोजिमको थुना भनी मान्न मिल्ने देखिएन ।’

प्रसाईं नेतृत्वको समूहले सञ्चालन गर्ने भनिएको कार्यक्रम शान्तिपूर्ण हुने सहमति सरकारसँग भइसकेको भनी कानून व्यवसायीहरूले इजलासलाई अवगत गराएको भन्दै आदेशमा भनिएको छ, ‘प्रसाईंलाई हिरासतमा राख्नुपर्ने औचित्यसमेत समाप्त भइसकेको देखिन आएकाले दुर्गा प्रसाईंविरूद्ध जारी पक्राउ पुर्जी तथा म्याद थपलगायतका अनुसन्धानसम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई दुर्गा प्रसाईंलाई गैरकानूनी थुनाबाट तत्काल मुक्त गर्न भनी विपक्षीहरूको नाममा बन्दी प्रत्यक्षीकरणको आदेश जारी ठहर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्