काठमाडौं । पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेपछि कांग्रेसमा महाधिवेशनको एजेण्डामा बहस अझ चर्किने देखिएको छ । महाधिवेशनका विषयमा दुई महामन्त्रीको बोली फरक परेपछि यस्तो देखिएको हो । प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको विशेष महाधिवेशन अब निर्विकल्प बनिसकेको निष्कर्षमा कांग्रेस महामन्त्री गगन थापा पुग्दा अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशनको सम्भावना टरिनसकेको बताएका छन् ।
निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्नेगरि कांग्रेसले आइतबार निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । दल दर्तापछि महामन्त्री थापा र शर्माले सोमबार महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
महामन्त्री थापाले चुनाव अगाडि महाधिवेशन हुने र नयाँ नेतृत्वकै हस्ताक्षरमा टिकट वितरण हुने दाबी गरेका छन् । ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ ।
नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले भनेका छन् ,‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौं ।’
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशनको मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड् कालाई हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन लिखित प्रस्ताव गरिएको मितिले पुस २८ गतेभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित लिखित माग गरेको ३ महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।
तर, अर्का महामन्त्री शर्माले भने चुनावअघि अझै नियमित महाधिवेशन हुनसक्ने बताएका छन् । उनले सबै ऐक्यबद्ध भए पुस अन्तिम साता नियमित महाधिवेशन गर्न सकिने बताएका छन् । ‘पहिलो विकल्प पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरि अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने । महाधिवेशन तयारी क्रममा केहीदिन समय नपुग्ने अवस्था देखिए १५ दिन समय थप गरेर महाधिवेशन सम्पन्न गर्न सकिन्छ,’ शर्माले भने, ‘त्यो हुन नसके दोस्रो विकल्प विशेष महाधिवेशन हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन गरेर अघि बढ्ने ।’
प्रतिनिधि सभाको निर्वाचन अघि नै महाधिवेशन हुनुपर्नेमा भने महामन्त्रीद्वय थापा र शर्मा एकमत छन् । पार्टी संस्थापन पक्षले भने महाधिवेशन टार्न प्रयास गरिरहेको छ ।
१५औं महाधिवेशनको विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार फेरि बस्दैछ । उक्त बैठकबाट महाधिवेशनको विषय टुंगिने नेताहरूको दाबी छ । मंसिर ११ को बैठकअघि विशेष महाधिवेशनको पक्षमा दबाब बढाउन उक्त अभियानको नेतृत्व गरिरहेका गुरुराज घिमिरेसहितका नेताहरूले राष्ट्रिय सभागृहमा अघिल्लो दिन बुधबार भेला बोलाएका छन् ।
एक थरि नेताहरू प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा रहेका बेला पार्टीले निर्वाचनमा जाने निर्णय गरेको थियो । तर, पुनःस्थापना पक्षधर पनि पार्टीभित्र मत्थर भइसकेका छैनन् । ‘हामी निर्वाचनमा जान्छौ त भनियो तर, निर्वाचन हुन्छ, सरकारले सुरक्षा प्रत्याभूति गर्छ भन्नेमा ढुक्क छैनौ,’ एक नेताले भने, ‘निर्वाचन हुन नसक्ने परिस्थिति बन्यो भने के हुन्छ ? त्यसैले विकल्प माथि पनि हामीले रणनीतिक योजना बनाउनुपर्छ भनिरहेका हौँ ।’ भेला र भेटघाट बढाएर पार्टीमा सभापति शेरबहादुर देउवाले पुनः सक्रियता बढाएपछि संस्थापन पक्षधर नेताहरू महामन्त्रीद्वयका मागमा हालका लागि सहमत देखिए पनि निर्वाचनमा जाने विषयमा प्रष्ट छैनन् ।