नेभिगेशन
राजनीति

तथ्यांकविद् बने मुख्य सचिव

काठमाडौं । सरकारले पहिलोपटक आर्थिक योजना तथा तथ्यांक क्षेत्रबाट निजामती सेवामा प्रवेश गरका कर्मचारीलाई मुख्य सचिव चयन गरको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानु दुई दिनअघि निजामती सेवाको नयाँ नेतृत्व चयनको निर्णय भएको हो । वरीयताका आधारमा उक्त पदका लागि अर्यालसँगै खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य, राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण प्रतिस्पर्धामा थिए ।

अर्यालले सरकारका लागि अबको सात महिना मुलुकको निजामती प्रशासनको नेतृत्व गर्नेछन् । काठमाडौं जोरपाटीका उनी २०७७ माघ १९ मा सचिवमा बढुवा भएका हुन् ।

बढुवापछि उनले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए । शासकीय प्रबन्धका जानकार ५७ वर्षीय अर्याल निजामती सेवाका क्षेत्रमा भद्र र अध्ययनशील प्रशासक मानिन्छन् ।

२०५३ वैशाख १९ मा केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतका रुपमा निजामती सेवामा प्रवेश गरेका उनी सचिवमा बढुवा हुनुअघि केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक थिए । उनी नेतृत्वमा भएका बेला केन्द्रीय तथ्यांक विभागले पहिलो पटक आर्थिक गणना गरेको थियो । आर्थिक योजना तथा तथ्यांक सेवामा प्रवेश गरी सचिव र मुख्यसचिवमा बढुवा हुने उनी पहिलो प्रशासक भएको कर्मचारी बताउँछन् । उनले उमेर हदका कारण आगामी असार २५ मा सेवानिवृत्त हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्