नेभिगेशन
दृष्टिकोण

मिथिलाञ्चलको मेला विवाह पञ्चमी

मार्ग शुक्ल पञ्चमीमा मनाइने राम जानकी विवाह महोत्सव साताव्यापीरूपमा मनाउने क्रममा जनकपुरमा यसपाली पनि सुरु भइसकेको छ । बस्ती वृद्धिका कारण हिजोआज अयोध्याक्षेत्र, सरयुलगायत धेरै स्थान र हाम्रै जनकपुर मिथिला क्षेत्रमा पनि सरसफाइको समस्या देखा परेको छ । पूर्वीय शास्त्रले प्रदूषणलाई पाप भनेको छ । धार्मिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै महत्त्व पाएको नेपालमा जति घरहरू छन् त्यति नै मन्दिरहरू पनि । जनकपुर क्षेत्रमध्ये जनकपुर धाम, धनुषा धाम, जलेश्वर शिव, सिन्धुलीको कुशेश्वर शिव, दोलखाको भीमेश्वर शिवलगायत कालिञ्चोकदेवी जस्ता प्रसिद्ध शक्तिपीठहरू मुख्य हुन् । सन्दर्भ श्रीराम सीताको विवाह महोत्सव रहेकाले यसै सेरोफेरोमा चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ ।

मिथिलेति त्रिवर्णीयं श्रुतितोऽपि गरीयसी । मकारो विश्कर्ता च थकारः स्थितिपालकः ।। लकारो लयकर्ता वै त्रिमात्रा शक्तयोऽभवन् । प्रणवेन समं सिद्धिः सर्वाघौघंनिवारणम् ।। पौर्णमासीं बिना चन्द्रो यथा पूर्णो नजायते । तथा तीर्थादिकं कृत्वा पूर्णो न मिथिलां बिना ।। मिथिलायां कृतं पुण्यमिहलोके परत्र च । अक्षयं स्यात्तु तत्सर्वं राम–सायुज्यकारकम् ।।–विष्णुपुराण

मिथिलाक्षेत्र आफैं महान् छ । ३ अक्षर मिथिलाको मि माने विश्वको सृष्टि हो, थि माने रक्षा, संसारको पालन बुझिन्छ र ला माने लय, प्रलय भन्ने संकेत गर्छ । चन्द्रमा बिना पूर्णिमा अधुरो भएझैं मिथिलाबिनाको तीर्थ अधुरो रहन्छ । मिथिलामा गरिएका कुनै पनि सुकार्यले इह र पर लोक दुवै सुध्रन्छ । रामसीताकै कारण योक्षेत्र सायुज्य मुक्तिक्षेत्र नै हो । यस्तौ सौभाग्य बोकेको योक्षेत्र हाम्रा लागि अहोभाग्यको विषय हो । विष्णुपुराण, स्कन्दपुराण आदि पूर्वीय शास्त्रहरूले जनकपुरधामका बारेमा विशद वर्णन गरेका छन् । जनकपुरक्षेत्रलाई मिथिलाक्षेत्र भनिन्छ । दार्शनिक तपस्वी राजा जनकको राज्यक्षेत्र भएकाले यसक्षेत्रको नाम जनकपुर रहेको हो । मिथिला क्षेत्र निकै व्यापक छ । दक्षिणमा भागीरथी, पूर्वमा हिमालय क्षेत्र कौशिकी नदी र पश्चिममा गण्डकी नदीको बीच भाग मिथिला क्षेत्र हो । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर अर्थात् ३ वटाको समष्टि ॐ को केन्द्र मिथिला हो । सृष्टि, स्थिति र संहारकी प्रतीक महामाया, महालक्ष्मी र महाकालीस्वरूप सीताको उद्गमस्थल जनकपुर क्षेत्र हो । पापनाशक मिथिलाक्षेत्र विश्वकै लागि उत्कृष्ट क्षेत्र हो । महिनाभरमा पूर्णिमा जसरी पूर्ण छ, त्यसैगरी व्रत, तीर्थ, पुण्यको पूर्णताका लागि मिथिलापुरीको दर्शन आवश्यक छ । मिथिलामा गरिएको पुण्य अन्यक्षेत्रमा तुलना हुन सक्दैन । अक्षय फल प्राप्त गर्न चाहने साधकहरूले जनकनन्दिनी सीताको क्षेत्र जनकपुरको भ्रमण गर्नैपर्ने हुन्छ । मिथिलाका १५ नामहरू शास्त्रहरूले बताएका छन् । १) मिथिला २) वैदेही ३) यज्ञक्षेत्र ४) जानकीजन्मभूमि ५) विश्वमंगला ६) क्रियापीठ ७) विकल्मषा ८) निरपेक्षा ९) नैमिकानन १०) रामानन्दकरी ११) स्वर्णलांघनपद्धति १२) तैरमुक्ति १३) तपोवन १४) शाम्भवी १५) स्वर्णकानन ।

ब्रह्मज्ञानी जनकबाट व्यासपुत्र शुकदेव स्वामीले भागवतको अध्ययन गरेका थिए । ९ वालयोगीश्वरहरू– कवि, हरि, अन्तरिक्ष, प्रबुद्ध, पिप्लायन, आविर्हाेत्र, दु्रमिल, चमस, करभाजनले राजा जनकलाई ब्रह्मज्ञान सिकाएका थिए । महाज्ञानी महर्षि याज्ञवल्क्य राजा जनकका गुरु थिए । संसारका ज्ञानी, महात्मा, पुण्यात्माहरू जनकसँग वेदान्तको ज्ञान सिक्न आउँथे । अध्यात्मज्ञानका शिखरपुरुष राजाजनकलाई विदेह महाराज भनिन्थ्यो । देह भएर पनि देहबाट मुक्त, संसारमा रहेर पनि सांसारिक विषयबाट मुक्त राजाजनकको दरबारमा योगशिक्षा सिकाइन्थ्यो । अध्यात्मक्षेत्रका स्रोत व्यक्तिहरूको सभा, सम्मेलन भइरहन्थ्यो । भनिन्छ, जनकपुरक्षेत्रका पशु, पंक्षी, वृक्ष, वनस्पति सबैले वेदको भाषामा कुराकानी गर्थे । सम्पूर्ण वायुमण्डल वेदमय बनेको थियो । सर्वत्र पूजित व्यक्तित्वहरूको संगम क्षेत्र मिथिला विश्वको सर्वोत्कृष्ट ज्ञान र विज्ञानको स्रोत रहेको थियो ।

मैथिली भाषाका कवि श्रीविद्यापति कोकिलको शालिकसमेत भएको यो क्षेत्रमा मिथिला साहित्यको भरपूर विकास भएको छ । पावन नदीहरूले सेचन गरेको मिथिला भूमिमा भगवती आद्याशक्ति स्वरूपिणी महामायाले धर्तीमा अवतरित हुने निधो गर्नुभयो । एकदिन सुनको हलोले यज्ञभूमि जोतिरहेका बेला वसन्त ऋतु, वैशाख शुक्ल नवमीको पुण्यतिथिमा पृथ्वीको गर्भबाट जगत्जननी जानकीको उदय भयो । अति राम्री कन्या प्राप्त गरेका राजा जनकले महारानी सुनैनालाई छोरीका रूपमा लालनपालन गर्न आज्ञा दिनुभयो । सीताको उदय दिन भने वैशाख शुक्ल नवमी हो ।

अघि सृष्टिकर्ता ब्रह्माजीको अंगबाट उत्पत्ति भएका स्वायंभू मनु र रानी शतरूपाले सर्वेश्वर श्रीहरिको तपस्या गर्दा श्रीहरि प्रसन्न भई वरदान माग्न भन्नुभयो । स्वायंभू मनु र शतरूपा महारानीले एकै स्वरमा ‘तपाईं जस्तै पुत्र प्राप्त गर्न सकौं’ भनेर वरदान मागेकाले भगवान्ले ‘तथास्तु’ भन्नुभएको थियो । एकपटक मात्र होइन तीनपटकसम्म युगयुगपिच्छे आफू पुत्र भएर धर्तीमा अवतरण हुने भगवान्को वचन थियो । त्रेतायुगमा पृथ्वीका दुष्ट शासकहरूका विरुद्ध भू–भार हरण गरी लोकहित र लोककल्याण गर्न श्रीहरिले राम अवतार लिने निधो गर्नुभयो । मनुष्यका रूपमा अवतरित हुने क्रममा अघि वरदान प्राप्त स्वायंभू र शतरूपा अयोध्यानगरीमा राजा दशरथ र रानी कौशल्याको गर्भमा आपूm रहने विचार गर्नुभयो ।

भारतको अयोध्या नगरीमा राजा दशरथ पुत्र श्रीहरि श्रीरामका रूपमा अवतरित हुनु र श्रीलक्ष्मीले जनकनन्दिनी सीताका रूपमा अवतरित हुनु केवल संयोग मात्र नभएर पूर्वयोजना नै थियो । राम र सीताको विवाहमा स्वयं ब्रह्माजीसमेत आउँदा जनकपुरको वैभव देखेर आफ्नो रचनामा आश्चर्य मान्नुभएको थियो । त्यसबेला जनकपुरमा देखिएको स्वर्णमण्डप, अलौकिक कलाकौशलता, भव्य महलहरू हेर्दा सृजनाकी स्रोत महामाया देवीको कृपाप्रसाद भनेर सहजै भन्न सकिन्थ्यो । जनकपुरको मध्यबजारक्षेत्रमा जानकी मन्दिर रहेको छ । भारतकी टीकमगढकी महारानी वृषभानु कुँवरले सम्बत् १९६८ मा नौलाख रुपैयाँ खर्च गरी बनाएको यो मन्दिरलाई नौलखा दरबार पनि भनिन्छ । मुगल शैलीमा बनेको यो मन्दिरलाई शीशमहल भन्ने गरिन्छ । मन्दिरको गर्भगृहमा राम र सीताका भव्य मूर्तिहरू छन् । सदैव रामसीताको दर्शन गर्न भीड लाग्ने यो मन्दिरको चारैतर्फ दुई र चार तला गरी महलका बुर्जाहरू बनाइएका छन् । जनकपुरको रामजानकी मन्दिर परिसरको पश्चिमपट्टि सुनयना – जनक मन्दिर छ, जहाँ अंगरागसरबाट झिकाइएका राम, सीता, लक्ष्मण एवं जनक राजा परिवारसहितकै मूर्तिहरू स्थापित छन् । मन्दिरको पश्चिमपट्टि राम– जानकी विवाहमण्डप छ । नेपाली मण्डपशैलीमा बनेको यो मण्डपमा राम–सीताको विवाहमा आएको ऐतिहासिक झाँकी र देवदेवी एवं महर्षि गणहरूको सुन्दर मूर्तिहरू स्थापित गरिएको छ । मण्डपपरिसरमा भव्य पुष्प उद्यान रहेको छ ।

जानकीमन्दिर पूर्वतर्फ श्रीराममन्दिर छ । लक्ष्मी–नारायण ईश्वरका दसै अवतारका मूर्तिहरू, हनुमान मन्दिर, देवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, दशरथ मन्दिर, संकटमोचन, रत्नसागरक्षेत्र र जनकपुरको पवित्र तलाउ हेर्न लायक छन् । राममन्दिरदेखि पूर्वपट्टि राम्रा दुई तलाउहरू छन् । यिनलाई धनुषसागर र गंगासागर भनिन्छ । अघि महर्षि वशिष्ठबाट श्राप प्राप्त गरेका राजा निमिका सन्तान थिएनन् । सन्तति नभएका राजाको शरीर मन्थन गर्दा मिथि नामक एक बालक पैदा भए । मिथि नामक बालकको नामबाट त्यो क्षेत्र मिथिला रहने भयो । याज्ञवल्क्य आदि अन्य गुरुहरूले मन्थन गरेको र मृत शरीर मन्थन गर्दाको प्रायश्चित्तबाट उनीहरू शुद्ध हुनुपर्ने थियो । महर्षि, मुनिहरूलाई ब्रह्माण्डमा रहेका सम्पूर्ण तीर्थक्षेत्रहरूलाई त्यहाँ आह्वान गरियो । गंगा आदि पुण्य नदीहरू, सम्पूर्ण समुद्रहरू, सारा तीर्थक्षेत्रहरूको अंश स्वरूप गंगासागरका रूपमा यसक्षेत्रमा आएर रहने भए । यहीं स्नान गरेर ऋषिमुनिहरू आपूm शुद्ध भए । अहिलेसम्म पनि आफ्नो पापको प्रायश्चित्त गर्न चाहनेहरू त्यहाँ स्नान गर्न जान्छन् । तलाउको वरिपरि घाटहरू छन् । राम जानकीक्षेत्र जनकपुरमा सदैव मेला लाग्ने गर्छ । तर पनि चैत्र शुक्ल नवमीमा विशेष मेला लाग्छ । ‘श्रीराम जन्मोत्सव’का रूपमा मनाइने रामनवमी पर्वमा यहाँ देशपरदेशबाट दर्शनार्थीहरू भगवान्को दर्शन गर्न आउँछन् । त्यस्तै वैशाख शुक्ल नवमीका दिन जानकीको उदय भएको यस दिन भक्तजनहरूले विशेष उत्सवका रूपमा मनाउँछन् । भजन, कीर्तन, कथावाचन, गीत नृत्य गरी विशेषरूपमा मनाइन्छ यो पर्व ! यस्तोक्षेत्र हाम्रो भूमिमा हुनु, हाम्रो देशको गौरव हो, त्यसैले त यो देश मुक्तिक्षेत्र हो, वैदिक क्षेत्र हो, धर्मभूमि र तपोभूमि हो तर अहिले गन्धा राजनीति यतै धेरै छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण