न्यूयोर्क – न्यूयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गरेका छन् । भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गरेका छन् ।
शनिबार एनबिसी न्यूजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर– निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ मान्ने दाबी दोहोर्याए । यद्यपि उनले शुक्रबारको संवादलाई ‘फलदायी र सद्भावपूर्ण’ भएको भन्दै दुवैबीच सहरका चुनौती तथा नागरिक जीवनसँग सम्बन्धित विषयमा गहन छलफल भएको बताए ।
भेटका क्रममा राष्ट्रपति ट्रम्पले पनि सहृदय रवैया अपनाउँदै पत्रकारहरूलाई ममदानीबारे ‘मै उत्साहित छु’ भन्ने टिप्पणी गरेका थिए । ममदानीका अनुसार वार्ताको केन्द्रविन्दु न्युयोर्क सहरका जनतामाथि परेको अत्यधिक जीवनयापन लागत र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकतामा केन्द्रित थियो ।
ट्रम्पप्रतिको आफ्नो अघिल्लो आरोपप्रति पुनः धारणा राख्दै ममदानीले भने, ‘मैले विगतमा भनेका सबै कुरामा म दृढ छु।’ असहमतिले जिम्मेवारीका कामहरू रोकिनु नहुने बताउँदै उनले भने, ‘म ओभल अफिसमा विवाद झिक्न वा निहुँ खोज्न गएको होइन, म न्युयोर्कवासीहरूका लागि परिणाम ल्याउन गएको थिएँ ।’
ममदानीका अनुसार उनले प्रयोग गरेको विवादास्पद विशेषणलाई राष्ट्रपति ट्रम्पले पनि हल्का हाँसोका साथ लिएका थिए । आफूले ट्रम्पलाई ‘फासीवादी’ भनेका विषयमा पुनः सोधिँदा ममदानीले ‘मैले पहिले नै बोलेको छु’ भन्नासाथ राष्ट्रपति ट्रम्पले हस्तक्षेप गर्दै ‘ठीक छ, तपाईं केवल ‘हो’ भन्न सक्नुहुन्छ, मलाई आपत्ति छैन’ भन्दै हात थपथपाएका थिए ।
अभियानका क्रममा ममदानीले ट्रम्पलाई भोट दिएका भए पनि बढ्दो जीवनयापन खर्चलाई आफ्नो प्रमुख चिन्ताका रूपमा व्यक्त गरेका क्विन्स र ब्रोन्क्सका मतदातासँग बारम्बार भेट गरेको स्मरण गरे । उनका अनुसार यही समस्याको समाधानलाई नै आफूले आफ्नो मेयर कार्यकालको शीर्ष प्राथमिकतामा राख्नेछु भनेर राष्ट्रपतिसमक्ष स्पष्ट पारेका थिए ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनदेखि नै लागत घटाउने प्रतिबद्धता जनाइसकेकाले ममदानीले यस विषयलाई लिएर दुवैबीच व्यावहारिक सहकार्यको वातावरण बन्नसक्ने विश्वास व्यक्त गरे । उनले ‘जनताको सधैं सताउने वास्तविक मुद्दा’मा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।
भेटमा न्यूयोर्कमा नेसनल गार्ड तैनाथ गर्नेबारे ट्रम्पको अघिल्लो चेतावनी पनि उठाइएको थियो । राष्ट्रपति यस विषयमा पूर्णरूपमा पछि हट्छन् कि हट्दैनन् भन्ने खुलेर भन्न नसके पनि ममदानीले न्यूयोर्क प्रहरीलेसार्वजनिक सुरक्षामा पर्याप्त सक्षम रहेको विश्वास रहेको बताए । भेटपछि राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरूलाई ‘यदि आवश्यक पर्यो भने मात्र सेना पठाइनेछ’ भनी जवाफ दिएका थिए ।
चुनावअघिका दिनमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ममदानीलाई ‘कम्युनिस्ट पागल’ सम्म भनेका थिए । उनी मेयर बनेमा संघीय कोष कटौती गर्नेसम्मका चेतावनी दिएका थिए ।
ट्रम्पले ममदानीका प्रतिस्पर्धी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्र्यु कुओमोलाई खुला समर्थन गरेका थिए । डेमोक्रेटिक प्राइमरीमा ममदानीसँग हारेपछि स्वतन्त्र उम्मेदवार बनेका कुओमो अन्ततः पराजित भएका थिए ।