१५औं शताब्दीमा बनेको एउटा रेनासाँ चित्रकला एउटा ग्यारेजको बेञ्चमुनि धुलो जमिरहेको अवस्थामा फेला परेको थियो । उक्त चित्रकला यतिबेला अक्सफोर्डशायरमा भएको एउटा लिलामीमा छ लाख ८५ हजार पाउन्डमा बिक्री भएपछि चर्चामा आएको छ ।
म्याडोना र बालक शीर्षकको उक्त चित्रकला रेनासाँ कलाकार पेरूगिनो नामबाट चिनिने पित्रो भेनुसीले बनाएको विश्वास गरिन्छ । १५औं शताब्दीको मध्यतिर जन्मिएका उनको यो चित्रकलाका बारेमा केही रोचक कथा पनि प्रचलित छन् ।
बेनबरीस्थित जेएस फाइन आट्र्समा भएको १५ मिनेट लामो बोलकबोलमा बिक्री भएको द टाइम्स अखबारले जनाएको छ । सेलरुममा, अनलाइन, फोनमार्फत र प्रत्यक्षरूपमा डाक बढाबढ भएको थियो ।
‘जब ह्यामर बज्यो, त्यहाँ एकदमै शान्ति छायो, अनि ताली बजाइयो,’ प्रमुख लिलामकर्ता जो स्मिथले भने, ‘यो ती क्षणहरूमध्ये एक थियो जुन प्रत्येक लिलामीकर्ताले सपना देख्छ । हामीलाई थाहा थियो कि यो विशेष छ, तर प्रतिक्रियाले हाम्रो अपेक्षाभन्दा धेरै बढी दंग पार्यो ।’
सेप्टेम्बरमा लिलामी घरको वेबसाइटमा राखिएको बेला उक्त चित्रकलाप्रति अन्तर्राष्ट्रिय संग्रहकर्ताहरूको अत्यधिक चासो बढेको थियो । जसका कारण फोन लाइनहरू लगातार व्यस्त रहे ।
एक स्थानीय व्यक्तिले केही वर्षअघि यो खरिद गरेका थिए तर यसको वास्तविक मूल्य थाहा थिएन । यो बिक्रीले एरिक रेभेलिअसको अघिल्लो रेकर्ड पनि तोडेको छ । एरिकको चित्रकला २ लाख ६५ लाख पाउन्डमा बिक्री भएको थियो । पेरूगिनो इटालियन रेनासाँ समयका सबैभन्दा चर्चित र प्रभावशाली कलाकारमध्ये एक थिए ।
उम्ब्रियामा जन्मिएका उनी त्यो बेला दा भिन्सीसँग प्रतिस्पर्धी चित्रकार मानिन्थे । सन् १५०२ ताका उनलाई त ‘इटालीका उत्कृष्ट चित्रकार’ उपाधि नै दिइएको थियो । सान्ड्रो बाटिसेलीसँगै उनलाई भ्याटिकनस्थित एपोस्टोलिक दरबारको सिस्टिन च्यापलका भित्ताहरू चित्रांकन गर्ने जिम्मेवारी दिइएको थियो । माइकलेन्जेलो भन्दा उनी एक पुस्ताअघिका प्रख्यात चित्रकार थिए ।
भिक्टोरिया एन्ड अल्बर्ट म्युजियमका अनुसार, माइकेलेन्जेलोले पेरूगिनोलाई चित्रकला बनाउन नजान्ने ‘अनाडी’ भनेका थिए । उनका शिष्य राफेल पछि गएर आफूलाई अधिक चम्काउन सफल भए । तर पेरूगिनोका चित्रकलाहरू १९औं शताब्दीमा कलाकार र संग्रहालयहरूको मनपर्ने बने ।
म्युजिमयका अनुसार १८६२ मा उनको नेटिभिटी भित्ते–चित्र खरिद गरेको थियो । यो कृति पेरूगिया नजिक फन्टोग्नानोस्थित एउटा गाउँले चर्चका लागि बनाइएको थियो । तर सन् १५२३ मा पेरूगिनोको प्लेगका कारण मृत्यु भएपछि अधुरो नै छाडिएको थियो ।
स्मिथका अनुसार, जनताबाट आएको प्रतिक्रिया आफूले पहिले कहिल्यै नदेखेजस्तै थियो । ‘हामीलाई थाहा थियो, यो विशेष चित्रकला हो तर प्रतिक्रियाले सबै अपेक्षाभन्दा धेरै बढी पार गर्यो । यो चित्रकलाको कामकुशलता र रेनासाँ शैलीको सौन्दर्य महसुस गराइरहेको थियो,’ उनले भने ।
चित्रकला कसले किनेका हुन् भन्ने खुलाइएको छैन । यी निजी संग्रहकर्ता रहेको र यो कृति पेरूगिनोकै सिर्जना भएको विश्वास भएकाले खरिद गरेको विश्वास गरेका छन् ।
गत वर्ष पेरूगिनोले बनाएका मेरी र जिससका दुई चित्रहरू सँगै डोरोथियमको ओल्ड मास्टर्स लिलामीमा ७ लाख ३९ हजार पाउन्डमा बिक्री भएका थिए । यी कलाकारले पाएको यो कीर्तिमानी रकम रहेको कलाविज्ञले बताएका छन् ।