रौतहट । देशैभर महिला हिंसाविरुद्ध १६ दिने अभियानको सुरु भएकै दिन रौतहटमा एक महिलाको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । वृन्दावन नगरपालिका–९ भुसाहामा शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनको शव मंगलबार भेटिएको हो ।
उनलाई निर्मम ढंगले हत्या गरी आफ्नै घरभित्र खाडल खनेर गाडेर माथिबाट भुसले छोपेको अवस्थामा प्रहरीले फेला पारेको हो । गाउँलेबाट खबर पाएर घटनास्थलमा पुगेको प्रहरीको टोलीले खातुनको शव पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविन कार्कीले बताए । इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खाडलबाट शव निकालेर पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल लगेको छ ।
मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । ‘खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन् । आदिल– तरीमाको डेढ वर्षीय छोरा मोहम्मद आरिफ भेटिएन । खोजी गर्दैछौं,’ एसपी कार्कीले भने ।
घटनाको अवस्था हेर्दा हत्यामा परिवारकै सदस्यहरूको संग्लग्नता हुनसक्ने शंका प्रहरीको छ । ‘अहिले नै अनुमानमा बोल्न मिलेन । घटना शंकास्पद छ ।
हामी फरार व्यक्तिहरूको खोजीमा छौं । उनीहरू पक्राउ परेपछि थप रहस्य खुल्नेछ,’ एसपी कार्कीले भने । हत्याको मुख्य कारण विवाहेत्तर सम्बन्ध हुनसक्ने अनुमान गाउँलेको छ । इप्रका गरुडाका प्रहरी निरीक्षक विश्वनाथ यादवका अनुसार मृतकको टाउकोको बायाँपट्टि धारिलो हतियारको चोट देखिएको छ भने तिघ्रामा निलडाम देखिएको छ । अनुसन्धानका लागि प्रहरीले गाउँबाटै एकजनालाई नियन्त्रणमा लिएको छ ।
वृन्दावन–९ का वडाध्यक्ष प्रवेज आलमका अनुसार तरीमाको माइती रौतहटकै गुजरा–७ पल्टुवा हो । आफ्नै भतिजसँग गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध थियो । दुवै जनालाई करिब एक महिना अघि इप्रका चन्द्रनिगाहपुरमा बुझाइएको र प्रहरीमा मृतकका ससुरा शेख अलि मोहम्मदले ‘मेरो छोराले बुहारीलाई राख्दैन । यही भतिजोसँग विवाह गराइदिन्छु’ भनेर दुवै जनालाई घर ल्याएको आलमले बताए ।
इप्रका चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रूपा लाबुङले गत कात्तिक १९ मा पल्टुवाबाट तरीमा र उनका भतिजोलाई कार्यालयमा ल्याएको बताइन । ‘माइती र ससुराली दुवै पक्षको मौखिक सहमतिमा दुई जनालाई ससुराली पक्षको जिम्मा लगाएर पठाएका थियौं,’ उनले भनिन् । वडाध्यक्ष आलमका अनुसार शेख आदिल १० जना दाजुभाइ छन् । जसमध्ये चारजना वैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा छन् भने अन्य नाबालित छन् । घरमा मृतकका सासुससुरा, दुई जना देउरानी–जेठानी, नाबालक देवरहरू बस्ने गरेका थिए । करिब चार वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका आदिल र तरीमाको एउटा सन्तान छ ।