नेभिगेशन
प्रदेश

बागमतीका १४ उद्यमी सम्मानित

काठमाडौं । उद्योग दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशमा उल्लेखनीय योगदान पुर्‍याइरहेका उद्यमीहरूलाई सम्मानित गरेको छ । ११ औं उद्योग दिवसका अवसरमा प्रदेशका उत्कृष्ट उद्यमीहरूलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो ।

११ औं उद्योग दिवसको अवसरमा बागमती प्रदेश सरकारले १४ उद्यमीलाई सम्मान गरेको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले बागमतीका प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्ड बमोजिम उच्च अंक प्राप्त गर्ने १३ जिल्लाका उत्कृष्ट एक/एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने एक जनालाई सर्वोत्कृष्ट उद्यमी सम्मान प्रदान गरिएको हो ।

आफ्ना नवप्रवर्तनशील प्रयास, जोखिमपूर्ण लगानी र निरन्तर मेहनतलाई प्रदेशले औपचारिक रूपमा कदर गरेको महसुस भएपछि आगामी दिनमा अझ प्रभावकारी रूपमा उद्यम विस्तार र नयाँ अवसर सिर्जना गर्न प्रेरित भएको उत्कृष्ट उद्यमी सुनिता घिमिरेले बताइन् ।

नुवाकोटको चिया कृषि फार्मका सञ्चालक शंकर तामाङ प्रदेशकै सर्वोत्कृष्ट उद्यमीको रुपमा सम्मानित भए । उनलाई नगद १ लाख रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो । अन्य उत्कृष्ट उद्यमीहरूलाई जनही ४० हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।

नुवाकोटमा रहेको चिया कृषि फार्म मार्फत चिया, तरकारी, फलफूल लगाएतको खेती गर्दै आएका तामाङले प्रदेश सरकारको सम्मानले आफूमा ऊर्जा थपेको बताउँछन् । मन्त्रालयका अनुसार नवप्रवर्तन, प्रभावकारी तथा सम्भावनायुक्त उद्यमलाई पहिचान गरी प्रोत्साहन गर्न विभिन्न कार्यक्रम अघि सारिएका छन् । उद्यमीलाई प्रविधि हस्तान्तरण, सीप विकास तालिम, व्यवसाय व्यवस्थापनका क्षमता अभिवृद्धि कार्यक्रम तथा आवश्यक परे परामर्श सेवासमेत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ र सम्मान कार्यक्रममा काभ्रेको नमुना एग्रो प्रोडक्सकी दीक्षा पौडेल, दोलखाको ग्यालेक्सी मौरी फर्मका पोष्टबहादुर दाहाल, भक्तपुरको चम्पक पाउँ उद्योगकी देवका श्रेष्ठ, काठमाडौंको द हाइल्याण्ड आर्ट फेसन डिजाइन एण्ड ट्रेनिङकी कल्पना लिम्बु, सिन्धुपाल्चोकको जौडाडा ढाका उद्योगकी रति थापा मगर, रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्मका राजेश थिङ, ललितपुरको स्पेशल पुष्टकारी उद्योगका संचालक बद्ध महर्जन उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भएका थिए ।

साथै, नुवाकोटको नमुन्चेत कृषि फर्मकी कान्छीमाया तामाङ, मकवानपुको ज्योती दामन कृषि फर्मकी ज्योती रायमाझी, रामेछापको हिमालयन ह्याण्डी क्राफ्ट एग्रो नेपाली कागज उद्योगकी संगिता शेर्पा, सिनधुलीको उज्यालो साबुन उद्योगका भोजकुमार खड्का र टीकाप्रसाद चौलागाई, धादिङको पवित्रा कृषि तथा पशुपंक्षी फर्मकी प्रेमकुमारी बस्याल रोकाय र चितवनको अर्बान नेस्ट बुटिक एण्ड रेन्टल हाउसकी सुनिता घिमिरे उत्कृष्ट उद्यमीको रुपमा नगदसहित सम्मानित भए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्