नेभिगेशन
विश्व

महिला र बालिकामाथि हिंसाको चक्र रोकिएन

हरेक १० मिनेटमा एक महिलाको हत्या : यूएन रिपोट

गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्यांक सार्वजनिक गर्दै  संयुक्त राष्ट्रसंघले महिलाहत्या (फेमिसाइड) विरुद्धको लडाइमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्र महिला (यूएन वुमेन)ले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनुपरेको थियो ।

नयाँ प्रतिवेदनले विश्वभर महिलाहत्याका (फेमिसाइड) मामिलामा स्तब्ध पार्ने  तथ्यांकहरू प्रस्तुत गरेको छ । सँगै लडाइमा स्पष्ट प्रगति नभएको चेतावनी दिएको छ । रिपोर्टका अनुसार सन् २०२३ मा करिब ५१ हजार १०० महिला र बालिका आफ्ना नजिकका व्यक्तिहरू घनिष्ठ साझेदार वा पारिवारका सदस्यहरूद्वारा हत्या गरिएका थिए । यो संख्याले दिनहुँ १४० भन्दा बढी महिलाको हत्या हुन्छ भन्ने जनाउँछ, जसले औसतमा हरेक करिब १० मिनेटमा एक महिला वा बच्ची नजिकका व्यक्तिद्वारा मारिएकी हुन्छिन् ।

रिपोर्टले घर नै महिलाका लागि सबैभन्दा खतरनाक स्थान बनेको दोहोर्‍याएको छ । धेरै हत्या घरभित्रै, इन्टिमेट साथी वा परिवारले नै गरेको पाइएको छ । क्षेत्रगत दृष्टिले हेर्दा, अफ्रिका सबैभन्दा बढी पीडित छ । अनुमानअनुसार त्यहाँ २१ हजार ७०० महिला नजिकका व्यक्तिद्वारा मारिएका छन् ।

त्यसपछि क्रमशः एसिया, अमेरिकाजस्ता क्षेत्र आउँछन् । युरोप र अमेरिकामा अधिकांश हत्या इन्टिमेट पार्टनरले गरेकामा केन्द्रित छन् । युरोपमा ६४ र अमेरिकामा ५८ प्रतिशत घटनाहरू पार्टनरबाट भएको पाइएका छन् ।

यूएन रिपोर्टले त्यस्ता हत्या धेरैजसो रोक्न सकिने थिए भन्ने पनि तर्क गरेको छ । तर संरक्षण प्रणाली, प्रहरी प्रतिक्रिया र सामाजिक सहयोग प्रणालीहरूमा कमी छ, जसले महिलालाई घातक हिंसाबाट जोगाउन सक्ने उपायहरू कमजोर बनाउँछ ।

यूएन वीमनका नायब कार्यकारी निर्देशक न्यारादजायि गुम्बोन्जवान्डाले फेमिसाइड शक्ति र नियन्त्रणका मुद्दासँग गहिरो रूपमा जोडिएको देखिएको बताएकी छन् । उनका अनुसार धेरै हत्याका घटना पछाडि घरेलु कारण र लैंगिक असमानता देखिएका छन् । मारिएकाहरू निर्दोष देखिएका कारक बलिया छन् ।

यूएनडीसीका कार्यवाहक कार्यकारी निर्देशक जोन ब्रान्डोलिनोले पनि घरभित्र हुने हिंसाको जोखिमलाई औंल्याउँदै घर धेरै महिलाका लागि खतरनाक बन्द स्थल हो भनेर खबरदरी गरेका छन् । रिपोर्टले डेटा संकलनमा पनि ठूलो कमजोरी रहेको चेतावनी दिएको छ । धेरै देशहरूमा रिपोर्टिङ प्रणाली पुराना, अपर्याप्त अथवा अव्यवस्थित छन्, जसले वास्तविकता प्रष्ट पादैनन् ।

युएन वीमनले सरकारले कडा कानुनी व्यवस्था, डेटा संकलन सुधार र हिंसाविरुद्धका अभियानहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । साथै सार्वजनिक चेतना बढाउने, सुरक्षित आश्रय घर, कानूनी सहयोग र विशेषज्ञ सेवाहरूलाई थप वित्तीय सहयोग आवश्यक रहेको भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्