मेलबर्न – अष्ट्रेलियाकी एक सांसद संसद् बैठकमा बुर्का लगाएर पसेपछि निलम्बनको कारबाहीमा परेकी छन् । राष्ट्रियस्तरमा बुर्का प्रतिबन्धका लागि अभियान चलाइरहेकी ७१ वर्षीया पौलिन ह्यान्सन कारबाहीमा परेकी हुन् ।
उनी प्रदर्शन गर्ने हेतुले बुर्का लगाएर संसद्मा पसेकी थिइन् । उनलाई यो वर्षभरिका लागि संसद् बाट निलम्बन गरिएको छ । ह्यान्सन मुस्लिमविरोधी र आप्रवासनविरोधी वन नेशन नामक सानो दलकी नेतृ हुन् ।
उनी सोमबार त्यसरी पसेकी थिइन् । उनले संसद्मा सार्वजनिक स्थलमा बुर्का तथा अन्य अनुहार ढाकिने पहिरनमा प्रतिबन्ध लगाउनुपर्ने विधेयक पेस गरेकी थिइन् । उक्त विधेयकमा विचार गर्न सहकर्मी सांसदले अस्वीकार गरेको विरोध गर्ने भन्दै उनले बुर्का लगाएर बैठकमा प्रवेश गर्दा असम्मानजनक नाटक गरेको आरोप लाग्यो ।
सांसदहरूले उनलाई सोमबारको बाँकी दिनका लागि निलम्बन गरेका थिए । तर उनले माफी नमागेपछि मंगलबार सेनेटले उनले पछिल्ला दशकहरूमा सांसदलाई दिइने कठोर दण्डमध्ये एक मानिने निन्दा प्रस्ताव पारित गर्यो, जसअनुसार उनलाई लगातार सात सेनेट बैठकका दिनहरूका लागि प्रवेश निषेध गरियो ।
सेनेट यो बिहीबारबाट वर्षका लागि अवकाश हुने भएकाले उनको निलम्बन संसदीय सत्र फेब्रुअरीमा पुनः सुरु हुँदा पनि जारी रहनेछ ।
पछिल्लो प्रतिक्रिया दिंदै ह्यान्सनले आफ्नो मूल्यांकन संसद् का सहकर्मीहरूले नभई २०२८ को निर्वाचनमा मतदाताले नै गर्ने बताएकी छन् । ‘उनीहरू बुर्का प्रतिबन्ध चाहँदैनन्, तर मलाई संसद् हलमा बुर्का लगाउन रोकिदिए । संसद्को कुनै पहिरन संहिता नै छैन, तर मैले भने लगाउन पाइनँ । यो व्यवहार पूर्णरूपमा कपटपूर्ण भयो,’ उनले भनिन् ।
ह्यान्सनले यसै महिना फ्लोरिडामा भएको कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा भाषण गरेकी थिइन् । उनले यसअघि पनि २०१७ मा सेनेटमा बुर्का लगाएर प्रवेश गर्दा ठूलो आलोचना झेलेकी थिइन् । तर, त्यो बेला उनलाई कुनै दण्ड दिइएको थिएन ।
सेनेटमा सरकारकी नेतृ पेनी वङले मंगलबार निन्दा प्रस्ताव अघि बढाएकी थिइन् । ह्यान्सनले बर्का लगाएर २८ मिलियन जनसंख्या भएको देशका करिब १० लाख मुस्लिमहरूलाई लक्षित गर्दै ‘एक सम्पूर्ण धर्मको उपहास र अपमान’ गरेको वङले बताइन् ।
‘ह्यान्सनको घृणापूर्ण र सतही प्रदर्शनले हाम्रो सामाजिक संरचना बिगार्छ । अष्ट्रेलियालाई कमजोर बनाउँछ र विशेषगरी विद्यालयसम्ममा समेत कमजोर नागरिकहरूलाई निर्दयी प्रभाव पार्छ,’ उनले भनिन् ।
सेनेटमा रहेका मुस्लिम प्रतिनिधि मेहरिन फारुकी पाकिस्तान र फतिमा पैमन अफगानिस्तानमा जन्मेका हुन् । २०१७ मा ह्यान्सनले पहिलोपटक बुर्का लगाउँदा, सेनेटमा एक जना पनि मुस्लिम सदस्य थिएनन् ।
‘यो निन्दा प्रस्तावले देशमा रहेको संरचनागत र प्रणालीगत जातीय भेदभावलाई अन्त्यतिर लैजाने प्रारम्भ होस्,’ फारुकीले भनिन् । हिजाब लगाउने सांसद पैमनले मंगलबार सेनेटमा बोलिनन् । तर उनले ह्यान्सनलाई सोमबार नै बुर्काको प्रयोग अशोभनीय भएको भन्दै आलोचना गरेकी थिइन् ।
गत वर्ष एक न्यायाधीशले सामाजिक सञ्जालमार्फत फारुकीलाई ‘तिमी आफूसँग जन्मेको देश फर्क’ भनेर अपमानजनक टिप्पणी गररे जातीय भेदभाव–विरोधी कानून उल्लंघन गरेको फैसलासहित ह्यान्सनलाई दोषी ठहर गरेका थिए । ह्यान्सन त्यो फैसलाविरुद्ध पुनरावेदन गर्दैछिन् ।
अस्ट्रेलियन फेडेरेसन अफ इस्लामिक काउन्सिलका अध्यक्ष रतेब जिनाइडले एक वक्तव्य जारी गर्दै ‘ह्यान्सनको बुर्का प्रदर्शन मुस्लिम, आप्रवासी र अल्पसंख्यकविरुद्ध लगातार दोहोरिने अपमानजनक व्यवहारको भाग हो’ भनेका छन् ।
ह्यान्सन १९९६ मा संसदमा दिएको आफ्नो पहिलो भाषणदेखि नै विवादित छिन्, जसमा उनले अष्ट्रेलिया भेदभावरहित आप्रवासन नीतिका कारण एसियालीहरूले डुबाउने खतरा रहेको दाबी गरकी थिइन् े ।