नेभिगेशन
विश्व

कफिनमा जीवित भेटिएपछि ...

थाइल्याण्डको नोन्थाबुरी प्रान्तस्थित वाट रात प्राखोङ थाम मन्दिरमा सोमबार बिहान अन्त्येष्टिका लागि शव ल्याइएको भनिएको शवबाट एक महिला जीवितै बाहिर निस्केकी छन् । घटनाले भिक्षु, कर्मचारी र उपस्थित सबैले अचम्म मानेका छन् । अन्तिम संस्कारका लागि ल्याइएकी ६५ वर्षीया थाई महिला कफिनभित्र जीवितै थिइन् ।

ती महिलालाई उनकै भाइले कफिनमा ल्याएका थिए । दुई वर्षदेखि स्वास्थ्य कमजोर रहेकी दिदीको श्वासप्रश्वास बन्द भएको थियो, हलचल गर्न छाडेकी थिइन् । यस्तो अवस्थामा भेटिएपछि भाइले दिदीको निधन भएको ठाने । मृत्यु दर्ता प्रमाणपत्र समेत ननिकाली उनले दिदीले जीवनमा व्यक्त गरेको अंगदानको इच्छालाई पूरा गर्ने प्रयत्नमा ५०० किलोमिटर टाढा बैंककको अस्पताल लगे । तर अस्पतालले प्रमाणपत्र बिना प्रक्रिया अस्वीकार गरेपछि उनले शव अन्तिम संस्कारका लागि मन्दिर पुर्‍याए ।

मन्दिरले निःशुल्क दाहसंस्कार सेवा दिन्थ्यो । भाइले सेतो कफिनमा दिदीलाई राखेर पिकअप ट्रकको पछाडिबाट ल्याए । वातावरण सामान्य थियो । भिक्षुहरू दाहसंस्कारको तयारी गर्दै थिए । यस्तै बेला कफिनको ढकनीमा हल्का ‘ठक ठक’ जस्तै आवाज सुनियो । सुरुमा कसैले विश्वासै गरेनन् । तर आवाज दोहोरियो—यसपटक अलि स्पष्ट । कर्मचारीहरूले एक–आपसमा हेराहेर गरे । एक जनाले भने ‘कसैले भित्रबाट हिर्कायो ।’

विश्वास नलाग्ने तर रोक्न नसकिने डर मिश्रित उत्सुकताका साथ उनीहरूले कफिन खोल्ने निर्णय गरे । ढकनी उठ्नेबित्तिकै सबै अचम्म परे । महिलाले बिस्तारै आँखा खोलिरहेकी थिइन्, सास चलिरहेको थियो, जिउ चलमल गरिरहेको थियो । मरेको ठानिएकी महिलालाई जीवित भेटिएपछि मन्दिर परिसर केहीबेर अस्पतालजस्तै आपतकालीन कक्षमा बदलियो । तुरुन्तै स्ट्रेचर बोलाइयो, सलाइन झिकियो र उनलाई नजिकैको अस्पतालतर्फ पठाइयो ।

अस्पताल पुगेपछि चिकित्सकहरूले गरेको परीक्षणले अझ आश्चर्यजनक कुरा खुल्यो – उनी मरेकी थिइनन् ।

उनी हाइपोग्लाइसेमियाको गम्भीर अवस्थाबाट पीडित थिइन् । रगतमा सुगरको मात्रा निकै न्यून भएपछि उनको होस हराएको थियो यही कारणले उनी मरेजस्ती देखिएकी थिइन् । चिकित्सकहरूले उनलाई तत्कालै सलाइन र ग्लुकोज चढाए । त्यसपछि उनी क्रमशः होसमा आउन थालेकी छन् ।

दिदी जीवित रहेको खुलेपछि भाइ रोए । उनलाई आनन्द र अपराधबोध दुवै भएको थियो । ‘दिदीलाई मरेकी ठानेर ठूलो गल्ती गरें,’ उनले भने । मन्दिरले यो घटनापछि महिलाको उपचार खर्च वहन गर्ने घोषणा गर्‍यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्