नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकले सुरु गर्‍यो डिजिबैंक सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स डिजिबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरूलाई एउटै च्यानलमा केन्द्रित गरी बैंकका ग्राहकहरूलाई वेब र मोबाइलमार्पmत सहजीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकको वेबसाइट वा मोबाइल बैंकिङमार्फत पाउन सकिने बैंकले जनाएको छ ।

यो प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरू (अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ तथा कार्डसम्बन्धी सेवाहरू) उपलब्ध गराइएका छन् । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई सेवा दिने लक्ष्यका साथै भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरू समावेश गर्दै अझ सशक्त बनाउने प्रतिबद्धता बैंकले जनाएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ६१ जिल्लामा २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ५४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्