नेभिगेशन
अर्थतन्त्र

पर्यटन क्षेत्रमा एनएमबिको सफ्ट पस सेवा

काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्नेगरी सम्झौता गरेको छ ।

सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिनबिना नै आफ्नो एनएफसी इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्डमार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन । पाटा नेपाल च्याप्टरले खासगरी होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारीमार्फत, पाटाका सदस्यहरूलाई प्रविधिमैत्री बनाउनु मुख्य लक्ष्य रहेको बैंकले जनाएको छ ।

एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ । यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटलरूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८४ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्