नेभिगेशन
खेलकुद

नेपाल टी–२०को समूह ‘सी’मा

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि समूह विभाजन सार्वजनिक भएसँगै नेपाल कडा चुनौती सामना गर्नुपर्ने समूहमा परेको छ । विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार घोषणा गरेको तालिकाअनुसार नेपाल समूह ‘सी’मा परेको छ । उक्त समूहलाई प्रतियोगिताको ‘कन्टेस्टिङ ग्रुप’ मानिँदै आएको छ, किनकि यसमा नेपालसँगै दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्याण्ड, बलियो टोली बंगलादेश र पहिलो पटक विश्वकप खेल्न लागेको इटाली छन् ।

नेपालले इङ्ल्याण्ड र इटाली दुवैसँग पहिलो पटक प्रतिस्पर्धा गर्नेछ । इटाली यसपटक ऐतिहासिकरूपमा विश्वकपमा छनोट हुन सफल भएको हो । युरोप क्षेत्रीय छनोटमा इटालीले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डलाई पछि पार्‍यो । साथै नेदरल्याण्ड्सले पनि सोही छनोटबाट विश्वकप यात्रा पक्का गरेको छ । नेपालका लागि यो तेस्रो विश्वकप यात्रा हो । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा सहभागी बनेको नेपाल फेरि निरन्तरता दिँदै पछिल्लो संस्करणका लागि चुनिएको हो ।

यसपटक विश्वकपमा २० देश सहभागी छन् । टोलीहरूलाई पाँच–पाँच टोली रहने गरी चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पारम्परिक प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छन् ।

समूह ‘बी’मा बलियो दाबेदार अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्याण्ड र ओमान परेका छन् । समूह ‘डी’मा दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, अफगानिस्तान, क्यानडा र यूएईले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन् । सुपर–८ चरणमा समूहलाई फेरि दुई भागमा विभाजन गरिनेछ । त्यसपछि माथिल्लो दुई टोली सेमिफाइनल यात्रा तय गर्नेछन् । अन्ततः सेमिफाइनलबाट फाइनलमा पुगेको उत्कृष्ट दुई टोलीबीच टी–२० विश्वकप २०२५ को उपाधि भिडन्त हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद