नेभिगेशन
विश्व

इजरायलमा युद्धविराम र बन्धक मुक्तिको माग गर्दै प्रदर्शनकारीहरूको हड्ताल

जेरुसेलम, १ भदौ  - गाजामा हमास लडाकूहरूले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइको मागसहित इजरायलमा आइतबार प्रदर्शनकारीहरूले हड्ताल गरेका छन् । हड्तालका कारण यातायात अवरुद्ध भए भने र धेरै व्यवसाय तथा कार्यालयहरू पनि बन्द भए ।

यस हड्तालले केही हप्ताअघि लडाकूहरूले बन्धकहरूको भिडियो सार्वजनिक गरेको र इजरायलले नयाँ आक्रमणको सङ्केत दिएको परिस्थितिलाई झन् तताएको छ । 

प्रदर्शनकारीहरूले गाजामा रहेका ५० जना बन्धक थप युद्धका कारण जोखिममा पर्नसक्ने बताएका छन् । अनुमानअनुसार तिनीहरूमध्ये करिब २० जना मात्र जीवित छन् ।

“हामी बन्धकहरूको शवमाथि युद्ध जित्न सक्दैनौँ”, भन्ने नारा लगाउँदै उनीहरूले सम्झौताको माग गरेका छन् । बन्धक तथा बेपत्ता परिवार फोरमद्वारा आयोजित कार्यक्रममा सहभागी आमा अनात एङ्ग्रेस्टले भन्नुभयो, “आज हामी सबै कुरा रोक्छौँ—दायाँ, बायाँ वा केन्द्र जहाँसुकै भए पनि—जीवनको मूल्य सम्झन र बन्धकहरूलाई फर्काउन ।”

हालैको कदमले सरकारलाई दबाबमा पारे पनि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अति–दक्षिणपन्थी सहकर्मीहरूको विरोधसँगै संवेदनशील सन्तुलनमा हुनुहुन्छ । उहाँका कट्टर सहयोगीहरूले हमासलाई सत्तामा रहन दिने कुनै पनि सम्झौताको समर्थन नगर्ने चेतावनी दिएका छन् ।

यसबीच, अर्थमन्त्री बेजलेल स्मोट्रिचले हड्ताललाई ‘हानिकारक अभियान’ भन्दै आलोचना गर्नुभएको छ । उहाँका अनुसार, यसले हमासलाई फाइदा पुर्‍याउनेछ र इजरायललाई आफ्ना शत्रुहरूसमक्ष कमजोर बनाउनेछ ।

यमनमा इजरायली हवाई आक्रमण –

त्यही दिन इजरायली सेनाले यमनमा इरान–समर्थित हुथीहरूलाई लक्ष्य बनाउँदै राजधानी साना नजिक पावर प्लान्टमाथि आक्रमण गरेको छ । यस आक्रमणलाई इजरायलले आफ्नो भूमिमा हुथीहरूद्वारा प्रक्षेपित मिसाइल र ड्रोनको जवाफ भनेर व्याख्या गरेको छ ।

गाजामा नयाँ विस्थापन आदेश अघि तयारी –

गाजामा मानवीय अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घले चेतावनी दिइरहेको बेला, इजरायलले युद्ध प्रभावित क्षेत्रहरूबाट जबरजस्ती मानिसहरूलाई हटाउन तयारी थालेको छ । यसका लागि आइतबार गाजामा थप पाल र आश्रय सामग्री पठाइएको बताइएको छ ।

गाजामा युद्ध सुरु भएदेखि दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने अधिकांश जनसङ्ख्या विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँ अहिले भोकमरी र कुपोषणको स्तर सबैभन्दा उच्च अवस्थामा पुगेको छ ।

सन् २०२३ मा हमासद्वारा गरिएको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलको आक्रमणमा गाजामा करिब ६२ हजार मानिस मारिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

तीमध्ये करिब आधा महिला र बालबालिका छन् । यो मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि, संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र विज्ञहरूले यसलाई सबैभन्दा भरपर्दो स्रोत मान्ने गरेका छन् ।

- रासस/एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्