नेभिगेशन
विश्व

मोटोपनले चिहान व्यवस्थापकलाई समस्या

लण्डन – बेलायतमा पछिल्लो समय मोटोपन यति बढ्दै गइरहेको छ कि विज्ञहरूले यसलाई ‘मोटोपनको महामारी’ भन्न थालेका छन् । पछिल्लो यो महामारीका बारेमा चिहान व्यवस्थापकहरूले समेत गुनासो गर्न थालेका छन् ।

फ्युनरल निर्देशकहरूले बेलायतमा मोटोपनका कारण चिहानको आकार बढाउनुपर्ने बाध्यता आइलागेको गुनासो गर्न थालेका हुन् ।

पहिले सानो, पातलो र सस्तो किसिमको ‘चिहान बाक्सा’ले पुग्थ्यो भने पछिल्लो समय मृतकको मोटोपनका कारण ठूलो चिहान बाकस चाहिन थालेको छ । यति मात्र होइन, त्यो चिहान भारी हुने भएकाले दह्रो चिहान बाकस बनाइनुपर्ने र त्यो महँगो पर्न थालेको पनि गुनासो गर्न थालिएको छ ।

द टेलिग्राफ दैनिकका अनुसार, मोटा मान्छेका लागि फराकिलो चिहान बाकस चाहिने भएकाले मृतक परिवारलाई बढी नै खर्च लाग्न थालेको छ ।

राष्ट्रिय फ्युनरल डाइरेक्टर संघ, स्कटल्याण्डका अध्यक्ष टिम पभ्र्स भन्छन्, ‘मृतकको अन्तिम संस्कार निकै मर्यादित होस् भन्ने हामी चाहन्छौं तर अचेलका मृतकहरूमा मोटोपन बढ्दै जान थालेकाले पछिल्लो समय परम्परागत आकार प्रकारले काम गर्न छाडेको छ । उनीहरूको भुँडी र गोडा चिहान बाकसभित्र अटेसमटेस नहोस् भन्ने हाम्रो चाहना हुन्छ ।’

उनका अनुसार, तर इज्जतिलो बाकस बनाउन पहिलेभन्दा यही कारणले महँगो हुन थालेको छ । पभ्र्सले स्कटल्याण्डको सबैभन्दा पुरानो र ठूलो स्वतन्त्र चिहानघर सञ्चालन गरिरहेका छन् । र, विगतका २५ वर्षयता सर्वसाधारणको मोटोपन बढेको प्रत्यक्षतः अनुभव गरेको उनी बताउँछन् ।

‘२५ वर्ष कफिनको आकारप्रकारमा फरक देखिन थालेको छ,’ उनले भने, ‘पहिले एउटा चिहान बाकसको लम्बाई १८ इञ्चको हुन्थ्यो । अहिले भने यो २ इञ्च बढेर २० इञ्च पुगेको छ ।

कहिलेकाहीँ त यो अझ फराकिलो २४ इञ्चको चिहान पनि बनाउनुपर्ने अवस्था आइरहेको छ ।’ कहिलेकाहीँ त उनले एउटा अनुमान गरेर खाल्डो खनिसकेका हुन्छन् तर शरीर भने सोचेभन्दा ठूलो आइपुग्छ । त्यस्तो बेलामा उनीहरू चकित परेर पुनः जमिन खन्नुपर्ने अवस्था आइलाग्छ । यस्ता घटना पछिल्लो समय स्कटल्याण्डमा बढेर जान थालेको छ ।

सन् २०४० सम्म डेढ लाखभन्दा बढी स्कटहरू मोटोपनको शिकार हुने र त्यो बेला अन्तिम संस्कार र चिहान व्यवस्थापन गर्ने काम अझ बढी क्लिष्ट हुने अनुमान पब्लिक हेल्थ स्कटल्याण्ड (पीएसएस) ले सचेत गराएको छ । यतिबेला नै करिब १५ लाखभन्दा बढी स्कटहरू मोटोपनको शिकार भइसकेका छन् । यो संख्या पूरै युरोपको तुलनामा सबैभन्दा बढी हो । यति मात्र होइन, संयुक्त अधिराज्यभरि पनि यो सबैभन्दा बढी हो ।

स्कटल्याण्डमा मोटोपनको शिकार हुनेहरूमा महिला बढी छन् । सन् २०४० सम्म १ लाख १८ हजार महिलाहरू र २६ हजार पुरुषहरू अत्यधिक मोटोपनको शिकार हुनसक्ने आकलन पीएचएसका प्रमुख महामारी विज्ञ डा. ग्रान्ट वाइपरले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्