सिंगापुर – सिंगापुरका संस्थापक नेता ली क्वान यूको पुरानो औपनिवेशिककालीन घर यतिबेला विवादको केन्द्र बन्न पुगेको छ । शहरको ५८ अक्सले रोडमा रहेको दुई तले यो घरको भुइँतला सन् १९५० को दशकमा आधुनिक सिंगापुरको राजनीतिक दिशा तय गर्ने गोप्य बैठकहरूको केन्द्र थियो । तातो र असहज त्यो कोठाबाटै सार्वजनिक आवासदेखि राष्ट्र निर्माणसम्बन्धी महत्त्वपूर्ण दृष्टिकोणहरू जन्मिएको बताइन्छ ।
तर इतिहास बोकेको यही घर अहिले गहिरो राजनीतिक र पारिवारिक विवादको केन्द्रमा पुगेको छ । सरकारले उक्त सम्पत्तिलाई राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने आफ्नो इरादा सार्वजनिक गरेपछि विवाद चर्किएको हो । यो कदम ली क्वान यूको इच्छाविपरीत रहेको दाबी उनका परिवारका केही सदस्यले गर्दै आएका छन् । ली क्वान यूले आफ्नो जीवनकालमै उक्त घर भत्काइदिन चाहेको बताउँदै आएका हुन् ।
यस हप्ताको सुरुमा उनका कान्छा छोरा ली सेन याङले राष्ट्रिय विरासत बोर्डले घरलाई स्मारकमा परिणत गर्ने निर्णयप्रति औपचारिक आपत्ति जनाएका छन् । उनले सार्वजनिकरूपमा आफ्ना सबै दाजुभाइ–दिदीबहिनीहरू र बुबाको स्पष्ट इच्छाको सम्मान हुनुपर्ने पक्षमा रहेको बताए । उनका अनुसार ली क्वान यूले पटक– पटक घरलाई ‘पवित्र स्थल’ बनाउने पक्षमा आफू नरहेको खुलेर राखेका थिए ।
ली क्वान यूले सन् २०११ मै मन्त्रिपरिषद् लाई आफ्नो मृत्युपछि घर भत्काइयोस् भन्ने इच्छा जाहेर गरेका थिए । सन् २०१५ मा उनको निधन भएपछि सार्वजनिक गरिएको वसीयतमा समेत घर भत्काउने कुरा समावेश गरिएको थियो । तर पछि त्यो प्रावधान हटाइएको थियो । घर भत्काउने विषय हटाइएपछि यस विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
यस प्रकरणको अर्को पाटोमा उनका जेठा छोरा ली सेन लूङ रहेका छन् । उनी त्यस समय प्रधानमन्त्री थिए । उनले बंगलो भाइहरूलाई बिक्री गरेको र त्यससँग सम्बन्धित सरकारी निर्णयबाट आफूलाई अलग राखेको बताउँदै आएका छन् । तर भाइबहिनीहरूले भने सम्पत्तिको संरक्षण अभियानले राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउँदै आएका छन् ।
सरकारको प्रस्तावअनुसार ५८ अक्सले रोडस्थित घरको भुइँतलालाई संरक्षण योजनाको केन्द्र बनाइनेछ । यस किसिमको संरक्षणले सम्पत्तिको ऐतिहासिक र वास्तुकलागत महत्त्व उजागर गर्ने सरकारको भनाइ छ । तर कान्छा छोरा ली सियन याङका अनुसार त्यो भुइँतला नै १९७० को दशकमा नवीकरण गरिएको थियो । त्यसैले त्यो भुइँतला मौलिक नभएका कारण घरको संरक्षण गर्नु जरूरी नभएको बताएका छन् ।
यो विवादले सिंगापुरे जनतालाई समेत विभाजित बनाएको छ । हालै ब्ल्याक डट रिसर्चले गरेको सर्वेक्षणले धेरै सिंगापुरवासी अझै पनि घर भत्काउने पक्षमा रहेको देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये २२ प्रतिशतले सरकारले यस विषयमा हस्तक्षेप गर्नुपर्ने बताए भने १३ प्रतिशत मात्रै संरक्षणको पक्षमा देखिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो मुद्दा एउटा सम्पत्तिको विवाद मात्र होइन । यसले सिंगापुर जस्तो सम्पन्न तर संक्रमणकालीन समाजले आफ्ना संस्थापकको विरासतलाई कसरी सम्झिन्छ भन्ने प्रश्न उठाएको छ । आप्रवासन, रोजगारीको असुरक्षा र जीवनयापनको उच्च लागतसँग जुधिरहेका सिंगापुरवासीका लागि यो बहस ऐतिहासिक स्मृतिभन्दा पनि वर्तमान र भविष्यको प्राथमिकतासँग जोडिएको देखिन्छ ।
घरको विवादपछि ली क्वान युका जेठा छोरा लूङबाहेक अन्य सदस्यहरू सिंगापुर छोडेर विदेशमा बस्दै आएका छन् । उनीहरू विदेशमा भएकाले पारिवारिक विभाजनलाई अझ गहिरो बनाएको छ । जेठा दाइसँग बहिनी र भाइहरूको पनि खासै मिल्ती छैन । यता, सरकार र परिवारबीच सहमति नजुट्दा ली क्वान यूको घरको भविष्य अझै अनिश्चित बनेको छ । सिंगापुरको इतिहास बोकेको यो घर जोगाइने वा भत्काइने भन्ने प्रश्न अब घरको मात्र होइन, राष्ट्रले आफ्नो विगतसँग कस्तो सम्बन्ध राख्छ भन्ने मापन बन्न पुगेको छ ।