नेभिगेशन
राजनीति

‘प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट कटौतीमा परेका जेनजी प्रतिनिधिहरूले जागिर खोसिएपछि प्रधानमन्त्री स्वार्थसमूहको चंगुलमा परेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवले सचिवालयमा आफ्नी पत्नीसहितका आफन्त भर्ती गरेको पाइएपछि प्रधानमन्त्रीले बुधबार सचिवालय पुनर्गठन गरेकी थिइन् । सो क्रममा विवादमा तानिएका श्रेष्ठलाई कायमै राखेर उनकी पत्नी र नातेदारसहितका १४ जनालाई हटाएकी थिइन् ।

जसमा जेनजी प्रतिनिधि पनि परेका छन् । हटाइएका तीन जेनजी प्रतिनिधिले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीमाथि गम्भीर आरोप लगाएका हुन् । उनीहरूले आफूहरूलाई हटाउने प्रधानमन्त्री कार्कीको निर्णयलाई बेवास्ता, नातावाद र व्यक्तिगत प्रतिशोधको नतिजा भएको बताएका छन् । प्रधानमन्त्रीको सचिवालयमा युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा परेको आभास भएको बताएका छन् । उनीहरूले सामूहिक रुपमा भनेका छन्, ‘मुख्य जिम्मेवारलाई छाडेर हामीलाई कारबाही गर्नुले प्रधानमन्त्री कुनै एक स्वार्थी समूहको प्रभावमा परेको संकेत गर्छ ।’

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले पत्नी र अन्य आफन्तलाई नियुक्ति गरेको विषय बाहिरिएपछि त्यसको विरोध गरेको बताएका छन् । ‘जेनजी आन्दोलन भ्रष्टाचार, नातावाद र कृपावाद विरुद्ध थियो । त्यसकै मर्म उल्ट्याउने निर्णयमा हामीले समर्थन जनाउनै सक्दैनथ्यौं,’ उनीहरूले भनेका छन्, ‘त्यही कारण प्रधानमन्त्रीको सचिवालयमा भएको पारिवारिक नियुक्तिको हामीले विरोध गरेका थियौं,’ उनीहरूले विज्ञप्तिमा भनेका छन् । सचिवालयमा देखिएको नातावादबारे आलोचना गरेपछि स्वकीय सचिव श्रेष्ठले प्रधानमन्त्रीलाई आफूहरूविरुद्ध उक्साएको र त्यसकै परिणामस्वरूप नियुक्ति खारेज भएको आरोप पनि उनीहरूले लगाएका छन् । हटाइएका विज्ञहरूले प्रधानमन्त्रीलाई सचिवालय सफा गर्न आग्रह गर्दै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई हटाउनुपर्ने माग राखेका छन् । उनीहरूले लेखेका छन्, ‘हामी सचिवालयमा नहुनुले ठूलो अर्थ नराख्ला, तर संकटको समयमा प्रधानमन्त्रीको सचिवालय नै सबैभन्दा भरपर्दो हुनुपर्छ । गलत सल्लाहबाट प्रधानमन्त्रीलाई अलग राख्न जरूरी छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्