नेभिगेशन
अर्थतन्त्र

एनसेलले बुझायो सबै कर

काठमाडौं । समय–समयमा कर छलीको आरोप खेप्दै आएका निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कुनै पनि कर तिर्न बाँकी नरहेको ठूला करदाता कार्यालयले स्पष्ट गरेको छ । आन्तरिक राजस्व विभाग मातहतको उक्त कार्यालयले उपलब्ध गराएको अभिलेखअनुसार कम्पनीले पुँजीगत लाभकरलगायत सबै कर चुक्ता गरिसकेको छ ।

एनसेलले आव २०८०/८१ मा सरकारलाई बुझाउनुपर्ने कर विवरण माग गर्दै गत असोज २९ मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठूला करदाता कार्यालयलाई पत्राचार गरेको थियो । कर चुक्ता स्थिति, नियमित कर दाखिला, प्रतिवेदन पेस गरिएको/नगरिएको तथा चुक्ता हुन नसकेको अवस्थामा ठोस कारणसम्बन्धी विवरण मागिएको थियो। स्रोतका अनुसार कार्यालयले गत साता पठाएको जवाफमा एनसेलले तिर्नुपर्ने कुनै बक्यौता नरहेको उल्लेख छ ।

दुई वर्षभन्दा बढी समय रोकिएको दूरसञ्चार उपकरण आयात सहजीकरण प्रक्रिया पुनः सुरु भएसँगै एनसेल गत जेठमा विभागमा पुगेको थियो । कम्पनीलाई सहजीकरण गर्न विभागले ठुला करदाता कार्यालयमा पत्राचार गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले टावरसम्बन्धी सामाग्री आयातमा सहजीकरण गर्दै आएपछि एनसेलले पछिल्ला महिनामा फोरजी सेवा विस्तारलाई तीव्र बनाएको छ ।

कम्पनीका अनुसार पछिल्लो पाँच हप्तामा मात्रै देशभर ८० भन्दा बढी नयाँ टावर सञ्चालनमा आएका छन् । पुस १५ भित्र झण्डै २०० नयाँ टावर सञ्चालनमा ल्याउने योजना छ । यसले आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा ग्राहक पहुँच थप व्यापक हुने कम्पनीको अपेक्षा छ ।

मधेस, बागमती र कोशी प्रदेशका स्थानीय तहमा फोरजी नेटवर्क क्षमता बढाएर सेवा सुधार गरिएको एनसेलका अधिकारी बताउँछन् । उपकरण आयात रोकिएको अवधिमा समेत पुराना उपकरण प्रयोग गर्दै ४० भन्दा बढी नयाँ टावर जडान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ जेठमा फोरजी सेवा सुरु गरेको एनसेलले हाल ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ । कम्पनीका अनुसार फोरजी सेवा कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनतासम्म पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्