काठमाडौं, १ भदौ - भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।
दुईदिने भ्रमणमा आइतबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओलिएका उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजु राणासँग पनि भेट गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विदेश सचिव मिस्रीसँगको भेटमा एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
‘अन्तर्राष्ट्रिय शक्तिका रुपमा भारतको सामाजिक– आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौं, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,’ शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले भनेका थिए ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठमा भेटेका छन् । भेटमा द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
यस्तै मिस्रीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार निवासमा भेटेका छन् । भेटमा नेपाल–भारत आपसी सहयोगका विषयमा कुराकानी भएको छ । आइतबार नै मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवास“ग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामका साथै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको राससले जनाएको छ ।
मन्त्री डा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्व दिदै आएको बताउँदै विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएकी छन् । उनले दुई देशबीचमा ‘कनेक्टिभिटी’ बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक संलग्नता बढेकामा खुसी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री राणाले पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको थप विस्तार गरी हवाई सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् । साथै उनले भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउन आग्रह गरिन् । नेपालगञ्ज - दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा मन्त्री राणाको जोड थियो ।
उनले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीस्थित फाप्ला क्रिकेट रंगशाला निर्माणको तदारुकतामा पनि जोड दिइन् । मन्त्री राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा पनि जोड दिएकी छन् ।
पछिल्लो समय प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र ‘बीआइएस’ मापदण्ड तथा यसमा परिरहेका कठिनाइबारे पनि कुरा उठाएकी थिइन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभ, बाढी र डुबान नियन्त्रणका बारेमा आगामी दिनमा सहकार्यका साथ अघि बढ्न सकिने विषयमा पनि मन्त्री राणाले जोड दिइन् ।