नेभिगेशन
अर्थतन्त्र

लामिनार टाइल्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता भएको छ । देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्न यो सम्झौता गरिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सेरामिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेकराज भट्टले सम्झौता–पत्रमा हस्ताक्षर गरे । यस सम्झौतामार्फत डिलरहरूले सजिलै चालु पुँजी प्राप्त गर्न सक्ने जनाइएको छ । जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउने दाबी गरिएको छ ।

नबिल बैंकले ०.५ प्रतिशत ऋण प्रशासकीय शुल्क, एलसी तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ– डिपोजिट लकर र पीओएस मेसिन शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम ५ लाख रुपैयाँ सीमासहित निःशुल्क क्रेडिट कार्ड, तथा नबिल केयर अन्तर्गतको क्रिटिकल इलनेस बीमाजस्ता विशेष सुविधाहरू उपलब्ध गराउनेछ ।

दुवै संस्थाले यो सहकार्यले डिलरहरूको आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्