नेभिगेशन
अर्थतन्त्र

ठूला अमेरिकी कम्पनीमा कर्मचारी कटौती, रोजगारी चिन्ता गहिरिँदै

न्यूयोर्क – नयाँ रोजगारी खोज्नेहरूका लागि अहिले समय सहज छैन । आर्थिक अनिश्चितताका कारण धेरै कम्पनीहरूले नयाँ कर्मचारी भर्ना नगर्ने वा अत्यन्त सीमित पदमा मात्र भर्ती गर्ने अवस्था देखिएको छ । यहीबीच ठूलो संख्यामा गरिँदै आएको छटनीले विभिन्न क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीको चिन्ता अझ बढाएको छ ।

केही कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ शुल्क नीति तथा उपभोग प्रवृत्तिमा आएको परिवर्तनका कारण सञ्चालन खर्च बढेको बताउँदै कर्मचारी कटौती गरिरहेका छन् । कतिपयले पुनर्संरचना र खर्च घटाएर कृत्रिम बुद्धिमत्ता (एआई)मा लगानी बढाउने रणनीति अघि सारेका छन् ।

फेडरल सेवामा कार्यरत कर्मचारी पनि अनिश्चिततामा छन् । ट्रम्प राष्ट्रपति बनेपछि हजारौं सरकारी जागिर कटौती भए । ४३ दिन लामो सरकारी शटडाउनले त धेरैलाई तलबसमेत रोकियो । श्रम डेटा प्रकाशन पनि रोकिन पुग्यो । ढिलाइमा सार्वजनिक भएको श्रम मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार सेप्टेम्बरमा अमेरिकी बजारमा १ लाख १९ हजार नयाँ रोजगारी सिर्जना भए पनि बेरोजगारी दर ४.४ प्रतिशत पुगेको छ । अगस्टमा भने ४ हजार रोजगारी घटेको संशोधित तथ्यांक आएको छ । अक्टोबरको पूर्ण विवरण सरकारले जारी गर्ने छैन ।

अमेरिकी तथा बहुराष्ट्रिय कम्पनीहरूले लागत व्यवस्थापन र एआई प्रयोग विस्तारलाई प्राथमिकता दिँदै कर्मचारी संख्यामा कटौती गरिरहेका छन् । यसले संसारभर रोजगारीका अवसरमाथि दबाब बढ्दै गएको विश्लेषकहरूको निष्कर्ष छ ।

हालै ठूलो संख्यामा छटनी गर्ने प्रमुख कम्पनी
» एचपी – तीन वर्षभित्र ४ हजारदेखि ६ हजार कर्मचारी कटौती योजना
» भेरिजोन – १३ हजारभन्दा बढी कर्मचारी हटाउँदै
» जनरल मोटर्स – ईभीको माग घटेपछि १ हजार ७ सय कर्मचारी कटौती
» पारामाउन्ट – स्काइडान्ससँग ८ अर्ब डलरको विलयपछि करिब २ हजार कर्मचारी घटाइँदै
» अमाजोन– एआईमा खर्च बढाउँदै १४ हजार जागिर कटौती, ९० दिनभित्र आन्तरिक स्थानान्तरणको विकल्प
» यूपीएस – वर्षभरिमा करिब ४८ हजार जागिर कटौती, ९३ कार्यालय बन्द
» टारगेट – १ हजार ८ सय पद कटौती, ८ प्रतिशत कर्मचारी घटाइँदै
» नेस्ले – दुई वर्षमा १६ हजार जनालाई हटाइने
» लुफ्थान्सा ग्रुप – २०३० सम्ममा ४ हजार पद घटाउने
» नोभो नर्डिस्क – ९ हजार जागिर कटौती, ११ प्रतिशत कर्मचारी घटाइँदै
» कोनोकोफिलिप्स – चालु वर्षसम्म ३२ सय ५० कर्मचारी कटौती
» इन्टेल – २४ हजार ५ सयभन्दा बढी कर्मचारी घटाउँदै
» माइक्रोसफ्ट – ६ हजारपछि थप ९ हजार जागिर कटौती
» प्रोक्टर एण्ड गेम्बल – दुई वर्षमा करिब ७ हजार कर्मचारी कटौती

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्