नेभिगेशन
राजनीति

‘संकट समाधानका लागि एउटै मोर्चा’

सुदूरपश्चिम । झण्डै एक दर्जनभन्दा बढी वाम घटक मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता सन्देश दिन शुक्रबार पहिलो पटक सुदूरपश्चिम प्रदेशको धनगढीमा सभा गर्‍यो । सन्देश सभास्थलमा अशान्ति हुन नपाओस् भनेर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो ।

तुलनात्मक रुपमा राम्रै भिड जम्मा गरेकाे नेकपाले केही पुराना नेतालाई पनि नयाँ पार्टीमा जोड्यो ।

सभालाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको अवसरका रुपमा व्याख्या गरे । उनले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरू केन्द्रित भएर अटाउन सक्ने बताए ।

भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको बताउँदै पहिलेका कमीकमजोरीको समीक्षा गरी महान् उद्देश्य बोकेर नेकपाको निर्माण शुरु गरिएको स्पष्ट पारे । हाल उत्पन्न सङ्कटको निकासका लागि निर्वाचनको विकल्प नदेखिएकाले निर्वाचनको वातावरण बनाउने काममा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी पार्टीहरूमा विगतमा भएका टुटफुटबाट शिक्षा लिएर नेपाली राजनीतिलाई स्वच्छ बनाउँदै नेकपा अघि बढ्न लागेको बताए । समाज रुपान्तरणका लागि पार्टीमा समाहित भएर अगाडि बढ्नमा सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘नयाँ क्रान्तिकारी पार्टी बनाउने सोचले गठन भएको नेकपाले भ्रष्टाचार र बेथितिको अन्त्य र जनताको पक्षमा काम गर्ने सङ्कल्प लिएको छ ।’ नेता भीमबहादुर रावलले देशको मुहार फेर्न गठन भएको नेकपाले देशलाई रुपान्तरण र परिवर्तन गर्न चाहेको बताए । उनले देशको स्वाधीनता र समृद्धिको यात्रालाई अगाडि बढाउन पार्टी क्रियाशील रहेको उल्लेख गरे । सन्देश सभामा पार्टीका नेता प्रकाश शाह, गिरीराजमणि पोखरेल, भानुभक्त जोशी लगायतले पार्टी गठन र समसामयिक राजनीतिका बारेमा बोलेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्