नेभिगेशन
राजनीति

ह्यातको क्यासिनोबाट १४ करोड लुट्ने पक्राउ

काठमाडौं । ह्यात होटलको क्यासिनोमा लुटपाट र तोडफोडका आरोपित दुई जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्धका ‘सेट्टी’ भनिने ४२ वर्षीय दावा शेर्पा र बुढानीलकण्ठका ‘रणे’ भनिने २९ वर्षीय रन्जित खड्गी छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका बेला बौद्धस्थित ह्यात होटलको क्यासिनो प्राइडमा पसेका उनीहरूले हतियार देखाएर नगद रकम लुटेका थिए । लुटेपछि तोडफोड र आगजनी पनि भएको थियो । उनीहरूले क्यासिनोबाट करिब १४ करोड रुपैयाँ लुटेको प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त दिनको क्यासिनोको भिडियो फुटेजमा सेट्टी र रणे खुकुरी बोकेर भित्र पस्दै लुटपाट गरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनापछि बाहिर धेरै नदेखिएका दुवैलाई बुढानीलकण्ठ एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । दुवैमाथि चोरी तथा डाँकासम्बन्धी कसुर र आपराधिक उपद्रव कसुरमा मुद्दा चलाउने तयारी छ । जिल्ला अदालत काठमाडौंले दुवैलाई सात दिनको हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।

यस्तै प्रहरीले छुट्टाछुट्टै स्थानबाट क्रिप्टो कारोबार र बिचौलिया कसुरमा ५ जनालाई पक्राउ गरेको छ । क्रिप्टो करेन्सी कारोबारमा संलग्न आरोपमा बिजुलीबजारबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामपा–१४ का ३६ वर्षीय विशाल डंगोल र कलंकी बस्ने मोरङको मिक्लाजुङ–१ का ४५ वर्षीय उमेश श्रेष्ठ छन् । एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूले ७४ लाख ५२ हजार रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको खुलेको छ ।

यस्तै राहदानी विभागमा बिचौलियाको काम गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर बस्ने बझाङको बित्थडचिर–६ का १९ वर्षीय हेमन्तसिंह ओखेडा, कामपा–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ र प्यूठानका ३० वर्षीय दीपेश केएम रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

उनका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभागको मूलगेटबाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा कर्मचारीको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको पाइएकाले पक्राउ गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्