नेभिगेशन
प्रदेश

कुमारीघरको तोरण २५ वर्षपछि फिर्ता

काठमाडौं । कुमारी घरबाट करिब २५ वर्षअगाडि चोरिएको पुरातात्त्विक तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याइएको छ । पुरातत्त्व विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो ।

मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा २०५७ सालमा कुमारीघरबाट चोरी भएको थियो । बेलायतस्थित संग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको हो । फिर्ता ल्याएर कुमारीघरमा राख्नुअघि तोरण राष्ट्रिय संग्रहालयमा थियो ।

अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा फिर्ता गर्नुपर्ने प्रावधानअनुसार ल्याइएको पुरातत्त्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् । उनका अनुसार नेपालबाट चोरिएका विभिन्न मूर्ति, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि प्रक्रिया चलाइन्छ ।

विभिन्न देशका संग्रहालय, लिलामी घर वा निजी संग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तर्राष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील संघसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्