नेभिगेशन
विश्व

श्रीलंकामा बाढी–पहिरो, १९३ को मृत्यु, २०० भन्दा बढी बेपत्ता

कोलम्बो – श्रीलङ्कामा चक्रवात ‘दित्वाह’ले ल्याएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा कम्तीमा १९३ जनाको ज्यान गएको छ भने २०० भन्दा बढी बेपत्ता छन् । विपद् व्यवस्थापन केन्द्रका अनुसार २० हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन् र १ लाख ८ हजारलाई सरकारी अस्थायी आश्रयस्थलमा सारिएको छ । देशको एक तिहाइ क्षेत्रमा विद्युत् र खानेपानी छैन, आपतकाल घोषणा भएको छ ।

केलानी नदीको जलस्तर तीव्र बढ्दै छ । केही क्षेत्रमा उद्धार जारी छ । क्याण्डी र बदुल्लामा सबैभन्दा बढी मृत्यु भएको छ भने धेरै गाउँहरू पहिरोले ध्वस्त भएका छन् । बदुल्लाको मस्पन्ना गाउँका समन कुमारा भन्छन्, ‘हाम्रो गाउँमा दुई जना गुमायौं । बाँकी मन्दिर र एउटा उभिएको घरमा आश्रय लिएका छन् । सडकहरू पहिरोले बन्द छन्, खाना र स्वच्छ पानी सकिँदै छ ।’ कुरुनेजलामा वृद्धाश्रम डुब्दा ११ जना बूढापाकाका मृत्यु भएको छ । अनुराधापुरामा डुबेको बसबाट ६९ लाई उद्धार गरिएको बताइएको छ ।

नौसेनाले यात्रुहरूलाई छानामा चढाएर बचाएका छन् । एक यात्रु डब्ल्यूएम शान्थाले एएफपीसँग भने, ‘हामी भाग्यमानी थियौं । छानो खस्यो, तीन महिलाहरू त्यसमा परे पनि उद्धार भने गरियो ।’ सरकारले अन्तर्राष्ट्रिय सहयोग मागेको छ र विदेशी श्रीलङ्कालीहरूलाई दान गर्न अपिल गरेको छ ।

यो बाढी शताब्दीकै सबैभन्दा भयानक बाढी हो भएको विज्ञहरू बताउँछ्न । सन् २००३ को जुनमा आएको बाढीका कारण २५४ जनाको मृत्यु भएको थियो । दक्षिणपूर्वी एसियामा पनि इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा यतिबेला भएको वर्षाका कारण लाखौं प्रभावित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्