नेभिगेशन
अर्थतन्त्र

तीन जलविद्युतलाई उत्पादन अनुमति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले अध्ययन पूरा भएका तीन वटा जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ । विभागले ५८.४९ मेगावाटका यी आयोजनाको उत्पादन अनुमतिपत्र सम्बन्धित प्रवर्धक कम्पनीको नाममा जारी गरेको हो । विभागले चिलिमे जलविद्युत् कम्पनीले गोरखामा निर्माण गर्न लागेको ४५ मेगावाटको चुम्चेत स्यार खोलालाई उत्पादन अनुमतिपत्र जारी गरेको हो । बुढीगण्डकी नदीमा निर्माण हुने यो आयोजनाको अध्ययन पूरा भइसकेकाले आवश्यक प्रक्रिया पूरा गई निर्माण कार्य अगाडि बढाउन उत्पादन अनुमतिपत्र दिएको विभागले जनाएको छ ।

यसअघि, २२ मेगावाटको चिलिमे, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोशी, ५७.३ मेगावाटका सान्जेन (१४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन) का आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको चिलिमे जलविद्युत् कम्पनीले नै यो आयोजनाको निर्माण अगाडि बढाउँदैछ । चिलिमे जलविद्युत् कम्पनीले उत्पादन अनुमतिपत्र जारी भएसँगै अब नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी वित्तीय व्यवस्थापन कार्य सम्पन्न गररे आयोजनाको संरचना निर्माणको काम सुरु गर्नेछ ।

आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् प्रस्तावित २२० केभी न्यू बूढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म २२० केभी क्षमताको ११० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । अध्ययन अनुसार आयोजनाबाट वार्षिक ३४८ गिगावाट घन्टा विद्युत् उत्पादन गर्न सकिनेछ ।

यस्तै, विभागले रामेछापमा निर्माण हुने ८.६० मेगावाटको मध्य लिखु जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनीको नाममा विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ । प्रबर्द्धक पर्वत इनर्जी प्रालिको नाममा आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरिएको हो । यो आयोजनाको पनि सम्पूर्ण अध्ययन पूरा भइसकेको छ । उत्पादन अनुमतिपत्र जारी भएसँगै यो आयोजना लगानी व्यवस्थापन गरी निर्माणमा जाने प्रक्रियामा गएको छ । यो आयोजना सोलुखुम्बु र रामेछापको सीमा भएर बग्ने लिखु नदीमा निर्माण हुँदैछ ।

यस्तै, ४.८९ मेगावाटको छोमरोङ खोला जलविद्युत आयोजनाको प्रबर्द्धक घान्द्रकु हाइड्रो पावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गरेको छ । सन् २०१७ मा सर्वेक्षण अनुमतिपत्र लिई सम्पूर्ण अध्ययन पूरा गरेको प्रबर्द्धक कम्पनीलाई आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गर्न उत्पादन अनुमतिपत्र दिइएको विभागले जनाएको छ । विभागले अहिलेसम्म २६३ जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ । यी आयोजनाको कूल जडित क्षमता ११ हजार ९७ मेगावाट छ । चालू आर्थिक वर्षको साढे ४ महिनाको अवधिमा मात्रै १३ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र जारी भएको छ । यो अवधिमा १९३ आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिन विभागमा आवेदन दिएका छन् । यी आयोजनाको जडित क्षमता ९ हजार ६ सय ८९ मेगावाट छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्