नेभिगेशन
विश्व

सिंगापुरका स्कुलमा डिजिटल अनुशासनको नयाँ नीति

काठमाडौं । डिजिटल ग्याजेट्सले शैक्षिक स्तरमा पारेको असरलाई ध्यानमा राख्दै सिंगापुर सरकारले नयाँ नीति ल्याएको छ । आगामी जनवरीदेखि माध्यमिक स्तरका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाइने नीति लागू गर्ने घोषणा शिक्षा मन्त्रालयले गरेको छ ।

पुराना नियम अनुसार विद्यार्थीहरूले केवल कक्षाका बेला मात्र मोबाइल उपकरण प्रयोग गर्न पाउँथे । नयाँ नीति अनुसार अब पाठ, ब्रेक, सह–पाठ्यक्रम क्रियाकलाप, पूरक वा सुधारात्मक कक्षाका सबै समय ती उपकरण बन्द गरेर स्कूल ब्याग वा तोकिएको स्थानमा राख्नुपर्ने हुन्छ ।

मन्त्रालयका अनुसार अत्यधिक स्क्रिन समयले विद्यार्थीको निद्रा, शारीरिक गतिविधि, सामाजिक अन्तरक्रिया र समग्र स्वास्थ्यमा नकारात्मक असर पारेको देखिएको छ । त्यसैले यो कदम स्वस्थ डिजिटल बानी प्रवर्धन गर्न र विद्यार्थीहरूलाई बढी ध्यानमार्फत् पढाइ तथा मित्र, परिवारसँगको सम्बन्ध सुधार्न उत्प्रेरित गर्न हो ।

शिक्षक र अभिभावकहरूको एक धारा यस निर्णयलाई स्वागत गरेका छन् । उनीहरूका अनुसार यस्तो नियमले विद्यार्थीहरूलाई क्लास र सुधारात्मक कक्षामा बढी केन्द्रित बनाउन, ब्रेक समयमा शारीरिक गतिविधि र व्यक्तिगत अन्तरक्रियाका लागि समय दिन र सामाजिक बन्धन मजबुद बनाउने अवसर दिन सक्छ ।

नयाँ नियम स्कूलहरूको जिम्मेवारीबोध र पालना आवश्यकतालाई समेत जोड दिन्छ । प्रत्येक विद्यालयले आफ्नै व्यवस्थापन प्रणाली बनाउनुपर्नेछ, जहाँ आवश्यक भएमा, आकस्मिक अवस्था वा शैक्षिक कारणले प्रयोगका लागि छुट दिने व्यवस्था गर्न सकिने मन्त्रालयले जनाएको छ । सिंगापुरमा सञ्चालन हुँदै आएको राष्ट्रिय स्वास्थ्य प्रवर्धन रणनीति ग्रो वेल एसजी अन्तर्गत प्राथमिक विद्यालयका लागि यस्तै मोबाइल उपकरण प्रतिबन्ध पहिलेदेखि नै लागू छ । अब माध्यमिक तहसम्म विस्तार भएपछि डिजिटल युगमा बढ् दो स्क्रिन समय र टेक्नोलोजीको निर्भरताबीच सन्तुलन खोज्ने प्रयासमा सरकार गम्भीर भएको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्