काठमाडौँ ।
“चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए,
काम सानो ठूलो हुन्न भन्ने युवा भए
सकिन्छ, समृद्ध नेपाल बनाउहाँ
सकिन्छ सुखी नेपाली बनाउहाँ...”
गायिका भूमिका लिम्बु सुब्बाले यो गीत त्यतिबेला लेखेकी थिइन्, जतिबेला युवाहरूको ठूलो जमात रोजगारका लागि विदेशिने क्रम बढ्दै थियो । त्यही युवामा आएको उदासीन अवस्था, गाउँपाखा रित्तिदै गएको दृश्य र रोजगारीका लागि भौंतारिएका युवाहरूको मुहार देखेर उनको कलमले यो गीत रच्यो । प्रेरणा, उत्साह र स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने हेतुले सुब्बाले कलम चलाइन् । ‘कलाकारले गर्ने यही हो, रचनाबाटै रुपान्तरण ल्याउन जोड दिनुपर्छ,’ उनी भन्छिन्, ‘मैले लेखेजस्तै, सायद युवाहरूले स्वदेशमै सम्भावना खोज्ने भए, मुलुक समृद्धितिर जान बेरै लाग्दैन नि !’ कलाकारको हातमा सबै हुँदैन तर परिवर्तनका लागि एउटा रचनात्मक भूमिका भने खेल्न सक्छ । त्यस्तो रुपान्तरण जहाँ समाजको विचार, परिस्थिति, संस्कृति परिवर्तन गर्न मद्दत गर्छ ।
सुब्बाले समाज परिवर्तनका लागि कलामार्फत भूमिका निर्वाह गर्दै आएको सानैदेखि हो । कलामा उनको निरन्तर लगाव रहेको छ । जहिलेदेखि उनलाई कलाप्रति रुचि र जाँगर चल्न थाल्यो, त्यतिबेलादेखि नै सुब्बा गीत गुनगुनाउन थालेकी हुन् । उनको गायन तथा लेखन कलामा समाजको चिन्तन छ । यसो त सुब्बाको बाल्यकालको रुची नाच्ने, गाउने हो ।
झापामा जन्मिएकी उनको ११ वर्षको कलिलो बालपनमै अङ्कुराएको कलाप्रतिको रुचि विस्तारै समयसँगै उचाईमा पुग्न थाल्यो । हालसम्म एक दर्जनभन्दा बढी गीत रचना रचेकी स्रष्टा सुब्बालाई कला क्षेत्रमा फाइदा लिनुभन्दा पनि यस क्षेत्रमा केही योगदान दिनुमा जोड छ । बाल्यकालमा कलाकार दाजुको औँला समाउँदै गाउँमा हुने सांस्कृतिक कार्यक्रममा नाच्न जाँदाका क्षण अहिले उनलाई सपना जस्तै लाग्छ । ‘त्यो बालापन अब कहाँ फर्किनु?’ उनी भन्छिन्, ‘‘दाजु नभएको भए, उ बेला छोरीलाई नाच्न सजिलो थिएन, दाजुकै औँला समाएर कलाकारितामा लागेँ ।’
नाच्ने र गाउने प्रतिभामा पोख्त हुनुभएकी सुब्बा भने अहिले गीत सिर्जनामा बढी प्राथमिकता दिन थालेकी छन् । यो उनको रहर नभई बाध्यता हो । घाँटीमा आएको समस्याले गर्दा गाउन कठिन भयो उनलाई । नाच्न पनि समय सँगै हराउँदै गयो । तर, लेखन कलालाई मन र इच्छा रहेसम्म केहिले छेक्दो रहेनछ । सुब्बाले मनमा आएका भाव, समाजमा देखेका घटना, भोगेका अनुभूतिहरूलाई गीत रचनामार्फत अभिव्यक्त गर्न सिपालु छिन् । उनले समाजमा देखेका र सुनेका अनेक घटनालाई आधार बनाएर जनजागरण जगाउने गीत रच्न रुचाउँछिन् । उनले रचेका हरेक गीतमा कुनै न कुनै कथा र भाव समेटिएको हुन्छ ।
उनले रचेको ‘देश जल्दा... गीतकै कथा निकै मर्मस्पर्धी छ । त्यसबेला तराई राजनीतिको द्वन्द्वमा जलिहरेको थियो । चाहे त्यो तराई होस्, पहाड होस् या हिमाल । नेपाल नै जलेको हो भन्ने उनलाई भान भयो । त्यो द्वन्द्वको रापसँगै सुब्बाको मन पनि जलिरह्यो । जसरी जेन्जी आन्दोलनमा देश जलिरहँदा रातभरि कोही नेपाली निदाउन सकेनन् । त्यसैगरी तराईमा घटेको राजनीतिक आगोको रापमा सुब्बाले पीडा बोध गरी ‘देश जल्दा हाम्रो पनि मुटु जल्नुपर्छ...’ गीत जन्माएकी हुन् । ‘हामी कलाकारका लागि गीत रच्नु भनेको सन्तान जन्माए जस्तै अमूल्य हुन्छ,’ उनले भनिन्, ‘मैले यो गीत लेख्दा शब्दसँगै आँशु पनि बगाएको थिएँ, चुपचाप मौन रोएकी थिएँ ।’
धेरै कलाकारका लागि चर्चा कमाउने, लोकप्रिय बन्ने र आयआर्जनमा वृद्धि गर्ने मोह हुन्छ । तर, सुब्बाको हकमा यो खासै महत्वमा छैन । उनका लागि कलाकारिता व्यक्तिमुखी हुनुभन्दा पनि समाज रुपान्तरण केन्द्रीत हुनुपर्ने प्रष्ट धारणा छ । त्यसैले आफूले सिर्जना जुनसुकै रचनाले समाजमा, युवा वर्गमा केही न कही जागरण ल्याउनुपर्ने मान्यता राख्छिन् । र, यही मान्यताका आधारमा उनले निरन्तर रचना कोरिरहेकी हुन् । उनले दुई गीत छिटै सार्वजनिक गर्ने तयारीमा छिन् । उनका अनुसार समाजमा व्याप्त महिलामाथि भइरहेको शारीरिक र मानसिक हिंसाविरुद्धका गीत बन्दैछ । ‘महिला हिंसा जहाँ त्यहीँ छ, गाउँ घरदेखि शहरसम्मै,’ उनी भन्छिन्, ‘हिंसा हुनु भनेको चेतनाकै अभावका कारण त हो । मेरो गीत सुनेर केही परिवर्तन ल्याउन सक्छ कि भन्ने प्रयासमा रचेकी हुँ । छिट्टै दर्शकमा ल्याउँदैछु।’
सुब्बाले २०५४ सालमा रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगिता पुरस्कार एवं सम्मान प्राप्त गरेकी थिइन् । देश तथा विदेशमा साङ्गीतिक कार्यक्रमको अनुभव बटुलेकी उनले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य समेत रहिन् । त्यस्तै, चलचित्र जाँचपास समितिको पूर्व सदस्य रहेकी उनीसँग नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्नुका साथै नेपाल एफएममा समेत ‘आर–जे’ बनेको अनुभव छ । यद्यपि, सुब्बाको गहिरो र दीर्घकालीन रुचि भने गीत सङ्गीतमा छ । उनी भन्छिन्, ‘गीत लेख्दा हुलका महसूस हुन्छ ।’ गीत सङ्गीतमा योगदान दिएबापत उनलाई गौरवशाली नारी सम्मान, बेस्ट म्युजिक स्टुडेन्ट, मधुरिमा सम्मान, तीज विशेष नारी सम्मान, बेस्ट जुरी अवार्डलगायत थुप्रै उपाधिले सम्मान गरिएको छ ।
सुब्बाले गीत लेखेर एकातिर समाजलाई जागृत बनाउन रचनात्मक अभियानमा छिन् भने अर्कोतिर समाजसेवा गरेर दीनदुःखीको घाउमा मल्हम लगाउने भूमिका पनि सँगसँगै निर्वाह गर्दै आएकी छन् । समूह पाँचथर संस्थाको अध्यक्ष रहेकी उनले संस्थामार्फत आफ्नो क्षेत्रका गरीव, जेहेन्दार र असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र हेरचारमा सहयोगी बनेकी छन् ।