आजकल धेरै अभिभावकहरूलाई बिदामा आफ्ना बालबालिकालाई कहाँ घुमाउने भन्ने चिन्ता हुन्छ । मोबाइल, टिभी र भिडियो गेमहरूमा बालबालिका व्यस्त हुँदा उनीहरूको सिर्जनात्मक सोच, सामाजिकता र ज्ञानको विकासमा प्रभाव पर्न सक्छ । यस्तो अवस्थामा, संग्रहालय बालबालिकालाई घुमाउनको लागि उत्कृष्ट स्थान हुन सक्छ ।
काठमाडौं उपत्यकामा रहेका विविध प्रकारका संग्रहालयहरूले बालबालिकालाई मनोरञ्जनसहित ज्ञान दिने राम्रो अवसर प्रदान गर्छन् । संग्रहालय भनेको ऐतिहासिक, सांस्कृतिक, वैज्ञानिक, प्राकृतिक, कलासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिने संस्था हो । यहाँ पुराना सिक्कादेखि लिएर जीवजन्तुका नमुना, पुराना दरबार, चित्रकलादेखि आधुनिक प्रविधिसम्मका विषयहरू पाइन्छन् ।
बालबालिकालाई संग्रहालय घुमाउँदा उनीहरूको ज्ञानमा वृद्धि हुन्छ । संग्रहालयमा पुरातात्त्विक सामग्री, जीवजन्तु, वनस्पति, कलाकृति आदि देख्दा बालबालिकालाई किताब बाहिरको ज्ञान पाउँछन् र उनीहरू जिज्ञासु बन्छन् । साथै, यस्ता कामले इतिहासप्रति चासो बढ्छ । यसले आफ्नो विगतबारे थाहा हुने र आफ्नो संस्कृतिप्रति गौरवको भावना विकास हुन्छ । संग्रहालय घुमाउने कामले बालमस्तिष्कमा कला र सिर्जनात्मक सोचको विकास हुन्छ । यसले उनीहरूको सिर्जनात्मकता र अभिव्यक्ति क्षमताको वृद्धि हुन्छ ।
आमाबाबु बालबालिकासँग घुम्दा अभिभावकले आफ्ना बच्चासँग नजिक हुने अवसर पाउँदा जसले आपसी संवाद र सम्बन्ध अझ बलियो हुन्छ । विज्ञहरूले बताएका छन् कि, मानविकीजस्तो सैद्धान्तिक विषयहरूलाई कलिलो बालमस्तिष्कले सजिलै बुझ्न र सम्झन नसक्ने हुन्छ । त्यसकारण बालबालिकालाई मानविकी विषयहरूको जानकारी गराउन शैक्षिक भ्रमण, स्थलगत अध्ययन आदिले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् ।
सामाजिक रहनसहन, रीतिरिवाज, चालचलन, संस्कार, संस्कृति, प्रकृति र भूगोलको जानकारीका लागि शैक्षिक भ्रमणले प्रभावकारी भूमिका खेल्छ । विभिन्न धार्मिक तथा सांस्कृतिक तीर्थस्थल, पुरातात्विवक एवं ऐतिहासिक स्मारक र सम्पदास्थलहरू, विशेष जातिगत समूह र संस्कार बाहुल्य भएको समाज, चिडियाखाना, खोलानाला, झरना, हिमाल, पहाड आदि क्षेत्र महत्ववपूर्ण भ्रमणस्थल र अनौपचारिक शैक्षिक केन्द्र हुन् ।
यस्ता सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको भ्रमणबाट बालबालिकाले मनोरञ्जनका साथै व्यावहारिक ज्ञान प्राप्त गर्छन् । जुन ज्ञानले जीवन, जगत्, समाज र राष्ट्रलाई हेर्ने दृष्टिकोण र चिन्तनलाई अभिवृद्धि गराउँछ । इतिहास, संस्कृति र सभ्यताको अनौपचारिक जानकारीका लागि संग्रहालयले महत्ववपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
बालमनोविज्ञान अत्यन्त जिज्ञासु स्वभावको हुन्छ । इतिहास र संस्कृतिसँग सम्बन्धित अनेकौ जिज्ञासा संग्रहालयको भ्रमणबाट समाधान हुन्छन् । साधारणतया हाम्रा पुर्खाले प्रयोग गरेका विभिन्न उपकरण हातहतियार, मूर्ति, पैसा, कागजपत्र, भोजपत्र, चित्रकला, धातुकला आदि संकलन, संरक्षण र प्रदर्शन गरिने स्थललाई संग्रहालय भन्ने गरिएको पाइन्छ ।
काठमाडौं उपत्यकामा प्रशस्त संग्रहालयहरू छन् जहाँ बालबालिकालाई फुर्सदमा घुमाउन सकिन्छ । तिनमा उपत्यकाका तीन शहरको दरबार क्षेत्रमा रहेका संग्रहालयहरू पर्दछन् । भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर राष्ट्रिय कला संग्रहालयमा पौभा चित्रकला, हस्तलिपि र ऐतिहासिक वस्तुहरूको संगह्र छ । हनुमानढोका दरबार संग्रहालयमा मल्लकालीन र शाहकालीन वस्तुहरूको संग्रह छ ।
छाउनीमा रहेको राष्ट्रिय संग्रहालयमा प्राचीन पुरातात्त्विक सामग्री, कला र ऐतिहासिक सामग्रीको संग्रह छ । छाउनीकै राष्ट्रिय मुद्रा संग्रहालयमा पुराना सिक्का र मुद्रा इतिहाससम्बन्धी सामग्री छन् । पाटन दरबार क्षेत्रमा रहेको पाटन संग्रहालयमा मूर्तिकला र धातुकलाका प्राचीन कलावस्तु संग्रहमा रहेको छ । नारायणहिटी दरबार संग्रहालयमा पूर्वराजा–रानीसँग सम्बन्धित वस्तुको संग्रह छ ।
छाउनीमै रहेको सैनिक संग्रहालयमा सेनासँग सम्बन्धित सामग्री छन् । त्यस्तै छाउनीभन्दा अलि पर स्वयम्भू नजिकै रहेको प्राकृतिक विज्ञान संग्रहालयमा जनावरहरू, चराहरू, वनस्पति, र अन्य प्राचीन अवशेषहरूको विशाल संग्रह छ । तारागाउँ संग्रहालयमा काठमाडौंबाट हराउँदै गएका पुराना भवनहरूको चित्रात्मक प्रदर्शनी भइरहेको हुन्छ भने बेलाबेला अन्य कला प्रदर्शनी पनि हुने गरेको छ ।
पाटनमा रहेको ज्यापु संग्रहालयमा नेवार समुदायको परम्परा, जीवनशैली र कला वस्तु हेर्न पाइन्छ । सिनामंलगमा रहेको हवाई संग्राहलय जहाजमै बनेको छ, जहाँ हवाई इतिहास झल्किने सामग्रीहरू संग्रहमा छन् । काठमाडौंमा रहेको संग्रहालयबाहेक उपत्यकाका विभिन्न स्थानमा रहेका कलाशाला (ग्यालरी) हरू पनि अभिभावक र बालबालिका बेलाबेला सँगै घुम्न जान सकिने ठाउँ हो । त्यसैले, मोबाइलको लत छुटाउन काठमाडौंमा रहेका म्यूजियमहरूमा बालबालिकाहरूलाई घुमाउन लानु राम्रो विकल्प हो ।
- जीवन्त दाहाल, काठमाडौ