नेभिगेशन
अर्थतन्त्र

नारखोलामा पाँचवटा बैंकले नौ अर्ब लगानी गर्ने

काठमाडौं – नारखोला जलविद्युत् आयोजनामा पाँच वटा बैंकले साढे नौ अर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धता जनाएका छन् । नारखोला हाइड्रो इनर्जी प्रालिले निर्माण गर्ने ६१.११ मेगावाटको आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई, कृषि विकास, एनआइसी एसिया र मुक्तिनाथ विकास बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आयोजनाको प्रवद्र्धक कम्पनी र ऋण लगानीकर्ता बैंकहरूबीच सोमबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा प्रवद्र्धक कम्पनीकोतर्फबाट अध्यक्ष बटु लामिछाने तथा बैंककोतर्फबाट कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गरेका छन् ।

मनाङको नार्पा भूमी तथा नासोङ गाउँपालिका भएर बग्ने नारखोला र सोती खोलाको पानीको उपयोग हुने गरी निर्माण हुन लागेको आयोजना सम्पन्न गर्न १२ अर्ब ८४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अनुमानित लागतमध्ये बैंकहरूले नौ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको कम्पनीका अध्यक्ष बटु लामिछानेले बताए । उनका अनुसार तीन अर्ब २१ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । स्वपूँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने पनि लामिछानेले बताए ।

‘हाम्रो आयोजना निर्माणका लागि सबै कानुनी प्रक्रिया पूरा भइसकेका छन् । वित्तीय व्यवस्थापनको टुंगो लागिसकेकाले अब भौतिक संरचना निर्माणको काम सुरु गर्ने चरणमा हामी पुगेका छौं । निर्धारित समय र लागतमा नै आयोजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने गरी निर्धाणलाई गति दिनेछौं’, लामिछानेले भने ।

उनका अनुसार अहिले आयोजनाको पहुँचमार्ग निर्माणको काम भइरहेको छ । अबको ३ महिनाभित्रमा आयोजनाको मुख्य भौतिक संरचना बनाउन सुरु गर्ने कम्पनीको योजना छ । निर्माण सुरु गरेको तीन वर्षभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको विद्युतगृहमा २०.३७ मेगावाटका तीन वटा उत्पादन युनिट रहने छन् । यो आयोजना निर्माण सम्पन्न भइ उत्पादन हुने विद्युत् २२० केभी धारापानी सबस्टेसनमा जोडिनेछ । यो आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहनेछ । मुख्य सुरुङ आठ किलोमिटर लामो हुनेछ ।

अध्ययन अनुसार आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदा वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाले वार्षिक दुई अर्ब १० करोड रुपैयाँको विद्युत् प्राधिकरणलाई बिक्री गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्