नेभिगेशन
अर्थतन्त्र

पूर्व–पश्चिम राजमार्ग विस्तार सुस्त

काठमाडौं – निर्माणाधीन पूर्व–पश्चिम एशियन राजमार्ग विस्तारको काम २५ प्रतिशत पूरा भएको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्म ९५ किलोमिटर सडकको भौतिक प्रगति २५ प्रतिशत पुगेको हो ।

नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा स्तरोन्नति भइरहेको यो सडक आयोजनाको प्रगति लक्ष्यअनुसार हुन सकेको छैन । राजमार्ग स्तरोन्नतिको कामले गति लिन नसकेको समयमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरी निर्माण तीव्र पार्न निर्देशन दिएका छन् ।

‘यो सडक विस्तारको काम जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा हुन नसकेको देखियो,’ उनले भने, ‘हिउँद सुरु भइसकेकाले अब कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको छ । यही कुरालाई ध्यानमा राखेर काममा गति दिन निर्माण कम्पनीलाई आग्रह गरेको छु।’

राजमार्गको दायाँबायाँ रहेका विद्युतीय पोल सार्न देखिएको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक समन्वय गरेर राजमार्ग विस्तारको काममा गति दिन सहजिकरण गर्ने घिसिङले बताए ।

राजमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । काँकडभिट्टादेखि झापाको केरखा (सितापुरी) सम्म ४५ किलोमिटर खण्ड निर्माणाधीन छ । जसको भौतिक प्रगति २९ प्रतिशत छ । यो सडकं निर्माणका लागि २०८० कात्तिकमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार यो खण्ड ३ वर्षभित्रमा सम्पन्न भइसक्नु पर्ने छ । तर, अहिलेसम्मको प्रगतिले बाँकी समयमा निर्माण सम्पन्न हुने देखिदैन ।

यस्तै, झापाको सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० कलिोमिटर सडक खण्ड निर्माणाधीन छ । यो सडक खण्डको भौतिक प्रगति जम्मा १३ प्रतिशत मात्रै छ । यो राजमार्ग विस्तार आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुललगायतका संरचना निर्माण हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्