काठमाडौं । महाधिवेशनको मिति तय भएसँगै कांग्रेसमा नेतृत्वको चर्चा पनि सुरु भएको छ । केन्द्रीय कार्य समितिको बैठक लम्बिँदै करिब डेढ महिना लामो रस्साकस्सीबीच सोमबार महाधिवेशन गर्ने टुंगो भएको थियो । पुस २६–२८ काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय भएसँगै पार्टी नेतृत्वको बहस सुरु भएको छ ।
सभापतिका लागि आकांक्षी नेताहरूले नेतृत्वमा दाबा गर्न सुरु गरेका छन् । यही क्रममा बुधबार १४औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका डा. शेखर कोइराला र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सभापति उठ्ने चाह व्यक्त गरेका छन् । कांग्रेस नेतृत्वमा कोइराला परिवारको छुट्टै लिगेसी छ । तर, नेतृत्वमा जो आउँछ, उसले आफन्तलाई पाखा लगाएको इतिहास छ ।
बिपी कोइराला सक्रिय हुञ्जेल गिरिजाप्रसादले पार्टीका महत्त्वपूर्ण जिम्मेवारी पाएका थिएनन् । जबसम्म गिरिजा थिए, छोरी सुजाताले पार्टीको नेतृत्वमा आउने बाटो नै बनाउन सकेकी थिइनन् । न त सुशील, शशांक र शेखरले नै पार्टीका जिम्मेवारीमा ताकेका दर्जा पाएका थिए । सुशील कोइराला पार्टी सभापति छँदा पनि शशांक र शेखरको मार्गप्रशस्त भएको थिएन । त्यसो त कांग्रेस कोइरालाको मात्रै सधैं बोलवाला चल्ने पार्टी होइन । मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि योगदान गर्ने धेरै नेताहरू रहेकाले पार्टीलाई नेतृत्व व्यवस्थापन सहज छैन ।
महाधिवेशनको मेसोमा फेरि कोइराला परिवारबाट नेतृत्वमा आउने रहर र प्रयास मुखरित हुन थालेको छ । काठमाडौंमा शेखरले चुनाव उठ्ने मात्रै होइन जित्ने नै दाबी गरिरहँदा चितवन पुगेका शशांकले पनि सभापति उठ्ने आफ्नो चाहना लुकाएनन् ।
‘सभापतिका लागि लड्ने भनेको छु। शेखर दाई र अन्य साथीहरू पनि इच्छुक हुनुहुन्छ । उहाँहरूसँग कुरा भइरहेको छ । सबै साथीहरूसँग सल्लाह हुँदैछ । तर, के हुन्छ हेरौँ,’ सञ्चारकर्मीहरूको जिज्ञासामा शशांकले भने ।
चितवनमा शशांक शेखरप्रति नरम सुनिँदा धेरैले यसपटक कोइराला परिवार एक ठाउँमा हुन सक्ने ठानेका छन् । सुजाता कोइराला यसअघि नै शेखरको पक्षमा उभिइसकेकी छन् ।
यता, शेखरले भने आफू सभापति उठेरै छाड्ने बताएका छन् । ‘अहिलेको जटिल परिस्थितिमा पार्टी र कार्यकर्ताको माग सम्बोधन गर्न सभापतिमा उठ्छु र जित्छु पनि । अरूको कुरा थाहा भएन,’ शेखरले आफू पक्का उमेदवार हुने भन्दै भने ‘महाधिवेशनको सभापतिको उम्मेदवार हूँ । मलाई साथ दिन सबै प्रतिनिधिहरूलाई आग्रह गर्छु।’ १४औं महाधिवेशनमा शेखर सभापतिको उम्मेदवार बन्दा पूर्वमहामन्त्री शशांकले शेरबहादुर देउवालाई साथ दिएका थिए । सोही कारण यसपटक देउवाले शशांकलाई समर्थन गर्ने उनी पक्षका नेताहरूले दाबी गर्दै आएका छन् ।
हाल शेखर एक्लै चुनावी अभियानमा देखिँदा शशांक भने कांग्रेसका पूर्व ७ पदाधिकारी समूहमा साझा उमेदवार बन्ने गरी गृहकार्यमा छन् । उक्त समूहमा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, पूर्वउपसभापति विजय गच्छदार, गोपालमान श्रेष्ठ र पार्टी प्रवक्ता प्रकाशशरण महत छन् । शशांकजस्तै यो समूहमा रहेका सबै नेता देउवाको समर्थनमा समूहभित्रबाट साझा उमेदवार बन्ने गृहकार्यमा छन् । निधि र सिंह १४औं महाधिवेशनमा सभापतिकै प्रत्याशी थिए ।
१५औं महाधिवेशनमा आफ्नो स्वाभाविक दाबी रहने बताएका निधि सर्वसम्मत सभापति छान्ने अवस्था आए त्याग गर्न तयार रहेको बताउँछन् । ‘अहिलेको महाधिवेशनमा निर्विरोध सभापति भयो भने सबभन्दा राम्रो हुन्छ । निर्विरोध सभापति हुने अवस्था छ भने म जुनसुकै त्याग गर्न तयार छु,’ उनले भने । पूर्वमहामन्त्री निधिले अहिले सभापति देउवाको समर्थन सभापतिका आकांक्षी गगन थापा र शेखदर कोइरालाले समेत खोजिरहेको भन्दै आफूहरूले खोज्नु स्वाभाविक भएको बताउँछन् ।
केन्द्रीय कार्यसमितिको बैठकका लागि पार्टी कार्यालयतर्फ जाँदै महामन्त्री गगन थापा । फाइल तस्बिर : नेपाल फोटो लाइब्रेरी
कांग्रेसलाई नजिकबाट बुझेका वरिष्ठ सञ्चारकर्मी कुलचन्द्र वाग्ले अहिले सभापतिको दौडमा शेखरको पक्षमा माहोल बन्न सक्ने दाबी गर्छन् । कांग्रेसको राजनीतिमा लिगेसीलाई कम आकलन गर्न नमिल्ने उनको ठम्याइ छ । ‘सात भाईको के अवस्था हुन्छ भन्न सक्दिन । महामन्त्रीहरूले शेखरजीलाई नै साथ दिने सम्भावना देख्दैछु। शशांकको पनि आफू नहुँदा साथ रहने सम्भावना बढ्दै गएको देख्छु,’ उनले भने, ‘सात भाइ भनेर चिनिएका कांग्रेसका पूर्व पदाधिकारीले साथ दिने अवस्था बन्दा त्यसले माहोल बनाउँछ ।’ सभापति शेरबहादुर देउवा १५औं महाधिवेशनमा उम्मेदवार नहुने भएपछि उनको समूहबाट को होलान् ? यो जिज्ञासाको विषय छ । कसलाई उम्मेदवार बनाउँछन् वा अरूलाई सहयोग गर्छन् ? देउवाले मुख खोलेका छैनन् । देउवा समूहबाट कतिपयले पूर्णबहादुर खड्का सभापतिको उमेदवार हुने आकलन गरिरहँदा महामन्त्री थापाले पनि सभापतिमा उठ्ने विषय लुकाएका छैनन् ।
महामन्त्री थापा निकट कांग्रेस युवा नेता शंकर तिवारी महामन्त्री थापाले पार्टीको सर्वोच्च पदमा प्रतिस्पर्धा गर्ने बताउँछन् । उनी कांग्रेसमा अब पारिवारिक लिगेसीले काम नगर्ने दाबी गर्छन् । महाधिवेशनमा लिगेसी भन्दा जेनजी आन्दोलनको वारेस बनेर पार्टी डोर्याउनसक्ने नेतृत्वको खोजी हुने उनी बताउँछन् । ‘अहिले देशभरका कांग्रेस नेता कार्यकर्ताले जेनजी आन्दोलनको वारेस लिएर हिँड्न सक्ने नेता को छ ? भनेर भावी नेतृत्वमा कसलाई ल्याउने भनेर मन बनाइसक्नुभएकोछ,’ उनी भन्छन्, ‘अहिले महामन्त्रीको सम्पूर्ण ध्यान महाधिवेशनको कार्यतालिकाअनुसार महाधिवेशन सुनिश्चित गर्नेमा छ । उहाँ आम निर्वाचन अघि कांग्रेसमा नयाँ नेतृत्व हुनुपर्छ भन्नेमा हुनुहुन्छ । तल्लो तहका अधिवेशन सकिएपछि उपयुक्त समयमा उहाँले आफ्नो उमेदवारी घोषणा गर्नुहुन्छ ।’ तिवारीले अहिलेको परिस्थितिमा महामन्त्री थापाले उत्तीर्ण भएको कक्षामा दोहोर्याएर नपढ्ने भन्दै सभापतिमा अरूलाई समर्थन गर्ने सम्भावना नरहेको दाबी गरे । उनले अहिलेको विशिष्ट अवस्थामा थापाबाहेक अरूले कांग्रेसलाई ठिक ढंगले नेतृत्व गर्नै नसक्ने दाबी पनि गरे । अर्का महामन्त्री विश्वप्रकाश शर्माले १५औं महाधिवेशनमा आफू सभापतिको दाबी नगर्ने भन्दै थापालाई समर्थन रहने बताइसकेका छन् । थापाले सभापतिमा हिम्मत नगरेको अवस्थामा भने आफू बढ्ने उनले यसअघि नै बताइसकेका छन् ।
कांग्रेसमा महाधिवेशन नजिकिएसँगै गुट अदलबदलको क्रम पनि सुरु भएको छ । सभापति देउवा बिदा हुने भएपछि उनी निकट नेताहरू पनि एकै ठाउँमा रहने सम्भावना कम देखिएको छ । देउवा निकट सहमहामन्त्री फर्मुल्लाह मन्सुर महामन्त्री थापाको पक्षमा खुल्दा शेखर निकट नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, देवराज चालिसे सहितका केही नेताहरू महामन्त्री थापासँग निकट देखिएका छन् । देउवानिकट बालकृष्ण खाँण, मोहन बस्नेत, एनपी साउद लगायतका नेता भने शेखरसँग संवादमा रहेको बताइन्छ । आफू उम्मेदवार बन्न नपाउँदा सात भाइको समूह फुट्छ वा एक रहन्छ ? त्यसले कांग्रेसको भावी नेतृत्व चयनमा प्रभाव पार्नेछ ।