नेभिगेशन
राजनीति

अपराधीलाई कांग्रेसले चुनावको टिकट नदिने

काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनमा जातीय विभेद र घरेलु हिंसाजस्ता सामाजिक विसंगतिमा दोषी ठहर व्यक्तिलाई उम्मेदवार नबनाउने भएको छ । उम्मेदवार बन्नका लागि कांग्रेसले बनाएृको १० बुँदे मापदण्डमा यस्तो व्यवस्था राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई पार्टीले परिपत्र गर्दै मापदण्ड तोकेको हो ।

‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन्,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । त्यस्तै कांग्रेसले पार्टीले तोकेको लेबीे पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टी विधानको व्यवस्थाबमोजिम मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन गर्ने भनी गरेको निर्णयअनुसार प्रतिनिधिसभा लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्यका लागि परिपत्र गरिएको मुख्य सचिव पौडेलले बताएका छन् । २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।

प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न नपाइने, प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

प्रतिनिधि सभा समानुपातिकतर्फका सिफारिस भएका उम्मेदवारको हकमा उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा अनिवार्य हस्ताक्षर गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने भएको छ ।

माघ ११ गते राष्ट्रिय सभा चुनाव र फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुँदैछ । कांग्रेसले तल्ला निकायबाट मंसिर मसान्तभित्र नाम आइसकेपछि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको टिकट एकै पटक वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्