नेभिगेशन
प्रदेश

प्रेस काउन्सिल अध्यक्षमा वरिष्ठ अधिवक्ता आचार्य

काठमाडौं – सरकारले सञ्चार क्षेत्रको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रेस काउन्सिल ऐन–२०४८ अनुसार काउन्सिलको अध्यक्ष सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता, वा पत्रपत्रिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट हुनसक्ने व्यवस्था छ ।

दाङमा जन्मिएका आचार्य सन् २०४० सालमा अधिवक्ता र २०६९ सालमा वरिष्ठ अधिवक्ता भएका हुन् । २०५१ सालमा नेपाल बार काउन्सिलको कार्यकारी समितिमा सदस्यका रूपमा काम गरेका उनी २०६० सालको कार्यसमितिमा उपाध्यक्ष थिए । लामो समय नेपालगंजमा काम गरेका उनी ललितपुरको कुपण्डोलमा ल फर्म एशोसिएट हब नेपालका साझेदार छन् । आचार्य करिब तीन वर्ष नेपाल मेलमिलाप परिषद्मा विज्ञ सदस्य थिए । उनले यूएसएड, द एसिया फाउन्डेसन, यूएनडीपी, नेपाल सरकार तथा नेसनल बिजनेस इनिसिएटिभ लगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थामा कानुनी परामर्शदाताका रूपमा पनि काम गरिसकेका छन् ।

प्रेस काउन्सिलमा वरिष्ठ अधिवक्ताको नेतृत्व पहिलो पटक होइन । यसअघि २०६९ मा तत्कालिन सरकारले वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलाई काउन्सिलको अध्यक्ष बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्