नेभिगेशन
प्रदेश

प्राथमिक तहमै रोकियो पढाइ

माथिल्लो कक्षाको पढ्न अर्को स्कुल एक दिनको पैदल दूरीमा पर्छ

मुगु । निम्नमाध्यमकि स्तरको नजिकको विद्यालय एक दिन पैदल दूरीमा पर्छ, नजिकै अरू विद्यालय छैनन् । मुगुम कार्मारोङ–२ मुगु गाउँका बालबालिकाको पढाइ ३ कक्षापछि छुट्ने गरेको छ । नजिकै पढ्न पाउने सुविधा नहुँदा यस्तो भएको हो ।

गाउँको एकमात्र शैक्षिक संस्था जनजागृति आधारभूत विद्यालयमा प्राथमिक (कक्षा १–३) भन्दा माथिको पढाइ हुँदैन । कक्षा ३ मा तीन वर्षदेखि रोकिएका विद्यार्थी आग्जेन कामी भन्छन्, ‘गाउँमै चार–पाँच कक्षा पढ्न पाइन्थ्यो भने कति राम्रो हुन्थ्यो ।’ अहिले पनि एक दर्जनभन्दा बढी विद्यार्थी दुई–तीन वर्षदेखि एउटै कक्षामा दोहोर्‍याएर पढिरहेको उनले बताए ।

कक्षा ३ पछि पढ्न पाउने एक मात्र विकल्प ताखास्थित आवासीय विद्यालय भए पनि एक दिनको यात्रा, खोला–खोल्सा र जोखिमपूर्ण बाटोका कारण अभिभावकले छोराछोरी पठाउन मानेका छैनन् ।

पहिले जनजागृतिमा ५ कक्षासम्मको पढाइ हुँदै आएको थियो । बालबालिकाहरू ५ कक्षा उत्तीर्णपछि ठुला कक्षा धाउन अन्यत्र पठाउन पनि अभियभावकलाई सहज थियो । २०७६ सालमा शिक्षा मन्त्रालयबाट आएको ‘शिक्षक तथा कक्षा मिलान’सम्बन्धी परिपत्रपछि जनजागृतिमा पढाइ घटाएर ३ कक्षामा सीमित गरिएको हो । शिक्षक दरबन्दी कटौतीसँगै कक्षा विस्तारको सम्भावना हराएको प्रधानाध्यापक राजेश खत्री बताउँछन् । उनका अनुसार दलित समुदायका १२–१५ बालबालिका कक्षा ३ पछि पढ्न नपाएर विद्यालय बाहिरै छन् र उनीहरू पटक–पटक आएर ‘सर, हामीलाई पनि पढ्न मन छ’ भनी अनुरोध गर्छन् ।

मुगुम गाउँमा १०५ घरधुरीमध्ये २४ दलित परिवार छन् । आर्थिकरूपमा सक्षम परिवारले सन्तानलाई पढ्न गमगढी, जुम्ला वा काठमाडौं पठाउँछन् । विपन्न परिवारका बालबालिका गाउँकै विद्यालयमा अड्किएका छन् । पहिले शिक्षकको लापरवाहीका कारण विद्यालय महिनौं बन्द हुने गरेको थियो, जसले धेरै बालबालिकालाई अध्ययनबाट टाढा पुर्‍यायो । अहिले विद्यालय नियमित सञ्चालनमा आए पनि कक्षा नबढ्दा समस्या उस्तै छ ।

हिउँदमा अत्यधिक चिसो हुने भएकाले अधिकांश परिवार सिरानी चौर क्षेत्रमा महिनौं बसाइ सर्छन् । यही कारण देखाएर अघिसम्म शिक्षकले वर्षौंसम्म विद्यालय छाड्ने गरे पनि अहिले एक मात्र शिक्षक खत्री नियमितरूपमा २४ बालबालिकालाई पढाइमा जोड्ने प्रयास गरिरहेका छन् ।

गाउँपालिकाले गत वर्षदेखि सिरानी चौरमा घुम्ती कक्षा सञ्चालन गर्न थालेको भए पनि स्थायी रूपमा ५ कक्षासम्मको विस्तार हुन सकेको छैन । ‘५ कक्षासम्म पढाइदिए पनि केटाकेटी अलि ठुला हुन्थे, त्यसपछिको पढाइका लागि अन्यत्र पठाउन हामीलाई सजिलो हुन्थ्यो,’ अभिभावक जिग्मे कामीले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले अभिभावकले नियमितरूपमा बालबालिका विद्यालय पठाउने प्रतिबद्धता जनाए कक्षा थपको पहल गर्न सकिने बताएका छन् । २०७६ को ‘कक्षा तथा शिक्षक मिलान’ निर्णयले मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्रका ११ विद्यालय प्रभावित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्