नेभिगेशन
प्रदेश

प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना वृद्धि

विराटनगर – प्रविधिको उपयोगले जीवन जति सहज छ, दुरुपयोगका कारण भइरहेका घटना अझ भयावह छन् । प्रविधि दुरुपयोगले लैंगिक हिंसा र उत्पीडनका घटना बढाएका छन् ।

यसबारे विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरूले लैंगिक हिंसा नयाँ स्वरूपमा भइरहेको चर्चा गर्दै निराकरणका लागि समाज गम्भीर हुनुपर्ने औंल्याए । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गैरसरकारी महासंघ मोरङको समन्वय तथा जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले समस्याको गम्भीरता प्रष्ट्याए । प्रविधिको दुरुपयोगले समाजमा उत्पीडनसँगै हिंसाका घटनाहरू वृद्धि भएको उनीहरूले बताए ।

आयोगकी सदस्य कृष्णकुमारी पौडेलले परिवारका कोही सदस्य हिंसामा परे परिवार ध्वस्त हुने बताइन् । प्रविधिको दुरुपयोगले मानव बेचबिखन, महिला र किशोरीको बेचबिखन बढ्दै गएको उनले चर्चा गरिन् । ‘डिजिटलको दुरुपयोगले मानव बेचबिखन, महिला र किशोरी र एकल महिलाहरूको बेचबिखन बढ्दैछ,’ उनले भनिन्, ‘अझ श्रीमान् विदेशमा हुने महिलाहरूलाई प्रविधिमार्फत ब्रोकरहरू नजिकिने गर्छन् र विस्तारै महिलाहरू ती ब्रोकरसित नजिकिँदा बेचबिखनमा पर्छन् । यस्ता विषय घरघरमा पुर्‍याएर सचेतना जागृत गराउनु जरुरी छ ।’

लैंगिक हिंसा, मानव बेचबिखन रोक्न संघसंस्था मात्रै नभएर तीनै तहको सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले लैंगिक हिंसा रोक्न विभिन्न संघसंस्थाहरू सक्रिय भए पनि कमी आउन नसकेको बताए । प्रविधिको बढ्दो प्रयोगले पारेका नकारात्मक असरलाई ध्यान दिनुपर्ने भनाइ उनले राखे ।

गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले पछिल्लो समय समाजमा लैंगिक हिंसा र मानव बेचबिखनका घटना बढ्दै जानुमा प्रविधिको दुरुपयोग नै मुख्य कारण रहेको बताइन् । उनले महिला आयोगलाई प्रदेशस्तरमा पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा विराटनगर महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनी, आफन्त नेपालकी अमृता घिमिरे, सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशी, मानव अधिकारका लागि एकल महिला मञ्चकी अध्यक्ष चूडा रेग्मीलगायतले आफ्नो भनाइ राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्