नेभिगेशन
विश्व

भारत जाँदै पुटिन

नयाँ दिल्ली – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिँदै रुसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्तुरोभले यसलाई ‘वार्षिक उच्चस्तरीय शिखर सम्मेलनको परम्परामा पुनरागमन’ भएको बताएका छन् ।

पुटिनको लामो समयपछि हुन लागेको यो पहिलो भारत भ्रमणका लागि दुवै पक्षका अधिकारीहरूले डिसेम्बर ४ र ५ मा हुने उच्चस्तरीय बैठकहरूलाई सफल बनाउने उद्देश्यले एजेन्डा सूक्ष्मरूपमा तयारी गरिएको मन्तुरोभको भनाइ छ । उनका अनुसार भ्रमणले दुवै देशबीच दशकौंदेखि कायम रहेको विश्वास, आत्मीयता र रणनीतिक सहकार्यलाई नयाँ गति दिनेछ ।

भारत–रुस फोरम पनि यही अवसरमा नयाँदिल्लीमा आयोजना हुँदैछ, जसमा दुवै देशका प्रमुख सरकारी प्रतिनिधि तथा व्यावसायिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहनेछ । फोरमले भारतीय कच्चा पदार्थ, उपकरण र खाद्य सामग्रीको निर्यात विस्तार, द्विपक्षीय व्यापारको विविधीकरण, संयुक्त लगानी परियोजना र उच्च प्रविधि क्षेत्रमा सहकार्य वृद्धिका विषयमा गहन छलफल गर्नेछ । मन्तुरोभले फोरम व्यवसाय–व्यवसायबीच प्रत्यक्ष संवाद र साझेदारी विस्तार गर्ने प्रभावकारी मञ्च बन्ने अपेक्षा रहेको बताए ।

अर्को दशकमा भारत–रुस सम्बन्धबारे सोधिएको प्रश्नमा मन्तुरोभले दुवै राष्ट्र ‘साँचो र दीर्घकालीन मित्रता’ मा आधारित भएर अझ लचिलो, सक्षम र भविष्यमुखी सहकार्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । उनका अनुसार विश्व राजनीति र अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहे पनि भारत र रुस आपसी हितका क्षेत्रमा विशेषतः उच्च प्रविधि उद्योग, वैज्ञानिक अनुसन्धान र रणनीतिक समन्वयमा—गहिरो रूपमा जोडिनेछन् ।

रुसी उपप्रधानमन्त्रीका अनुसार ग्लोबल साउथको प्रभाव बढिरहेको अवस्थामा मस्को–नयाँदिल्ली सहकार्यले विश्वव्यापी सन्तुलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । संयुक्त प्रयासका कारण दुवै राष्ट्रको आवाज अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी बन्दै जाने उनको अपेक्षा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्