नेभिगेशन
अर्थतन्त्र

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

काठमाडौं – नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । ‘बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौं उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ’, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले बताए ।

बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागंज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, बिजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ । बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ ।  बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नुपर्दैन ।

नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रूपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्