नेभिगेशन
अर्थतन्त्र

इनरुवा–कप्तानगंज सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा—कप्ताङगंज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभागको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरेकाे हो ।

सडक स्तरोन्नतिका लागि जेभीसँग २०७८ माघ २ मा करसहित ५२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०८१ साउन भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर अहिलेसम्म जम्मा १८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यो सडकको ठेक्का २०८३ असारसम्म थपिए पनि प्रतिबद्धता बमोजिम काम नगरेकाे पाइएको छ ।

ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीले कार्य सम्पादन जमानत बापतको १६ करोड ९४ लाख र पेश्की दुई करोड ३१ लाख एक करोड ७१ लाख रुपैयाँ जफत हुनेछ । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो ।

योजना कार्यालय इटहरीले गत साउनमा नै ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि उपस्थित नभएको, पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ । ऐनको प्रावधानबमोजिम कार्य सम्पादन जमानत बापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकीसरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्