नेभिगेशन
राजनीति

कुलमान भन्छन् – अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागेको छ

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौँ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानको हल बुधबार भरिभराउ थियो। सहभागीमध्ये अधिकांशका टाउकामा थियो बिजुलीको बलिरहेको ‘चिम’ अंकित हरियो क्याप । समर्थकले भरिभराउ हलमा उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्‍यो।

नेताले दाबा गरे– ‘हाम्रो पार्टी नयाँ दलहरूको भीडमा संख्या थप्न आएको होइन, नयाँ युगको प्रारम्भ गर्ने संकल्प र योजनासहित जन्मिएको हो । ’सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिने बताएको पार्टीले घोषणा सभामा जेनजी आन्दोलनमा नवयुवाहरूले देखेको सपनालाई यथार्थमा बदल्न नयाँ दल स्थापना र विस्तार अपरिहार्य भएको जनाएको छ ।

१० पृष्ठ लामो घोषणापत्रमार्फत उज्यालो नेपाल पार्टीले आफ्नो राजनीतिक कार्यदिशा र सैद्धान्तिक धार प्रष्ट पारेको छ । ‘नेपालको संविधानको मूलभूत व्यवस्थालाई आत्मसात गर्दै लोक कल्याणकारी राज्य र उदारवादी अर्थ व्यवस्थाको अभ्यास गर्नु उज्यालो नेपाल पार्टीको मूलभूत राजनीतिक र आर्थीक मार्गदर्शन रुपमा रहनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य हुनेछ ।’

घोषणा सभामा प्रमुख अतिथि बनेका थिए ऊर्जा, शहरी विकास एवम् भौतिक मन्त्री कुलमान घिसिङ । उनले उज्यालो नेपाल पार्टीलाई शुभकामना दिए । आफ्नो पार्टीका रुपमा चर्चा हुने गरेको उज्यालो नेपालको घोषणा सभामा बोल्ने क्रममा शुरुमै उनले ढाँट्न भ्याए । उनले यो नयाँ दल आफ्नो पार्टी भएको सोझो स्वीकार गरेनन् । बरु पार्टीका अध्यक्ष अनुप उपाध्यायलाई आफ्नो मित्र भन्दै घिसिङ बोले– ‘प्रमुख अतिथिका रुपमा बोलाए अरु पार्टीको सभामा पनि म सहभागी हुन्छु।’ लोडसेडिङ अन्त्य गर्ने जस आफूले पाए पनि त्यसका लागि ऊर्जा सचिवका रुपमा उज्यालो पार्टीका अध्यक्ष उपाध्यायको भूमिकाका कारण पनि लोडसेडिङ अन्त्य भएको स्मरण उनले गरे ।

त्यस्तै, घिसिङले संकटको बेलामा आफ्नो भूमिकाको खोजी हुने गरेको चर्चा गर्दै सरकारबाट बाहिरिएपछि देशकै नेतृत्व गर्नुपर्छ की जस्तो लागेको बताए । आफ्नो कार्यकाल ४ महिना बाँकी हुँदा आफू प्राधिकरणबाट बाहिरिनुपरेको भन्दै उनले भने, ‘मैले त्यस बेला पनि सरकारलाई धन्यवाद दिएको थिएँ, मलाई मौका दिनुभयो भनेर, अब यहाँबाट हिँडेपछि देशकै लिड गर्नुपर्छ कि भन्ने लागिरहेको छ ।’ उनले देशको नेतृत्व सही व्यक्तिले गरे देश विकास गर्न सकिने बताए ।

‘विकास दशक घोषणा गरेर काम गर्नुपर्छ । त्यसका लागि अहिलेका ऐन खारेज गरेर एउटै छाता ऐन ल्याएर काम गर्‍यो भने यो देश कहाँबाट कहाँ पुग्छ ?,’उनलेभने । अहिलेको राजनीतिक दल र नेताहरू व्यवस्था बदल्न सफल भए पनि आर्थिक विकास र समृद्धिका लागि असफल भएको दाबी गरे । 

उज्यालो नेपाल पार्टीले घोषणापत्रमा घिसिङले नेतृत्व गरेको ‘चिलिमे मोडल’ र लोडसेडिङ अन्त्यको सफलतालाई आफ्नो प्रेरणाको प्रस्थान विन्दु मान्दै आफ्नो प्राथमिक लक्ष्य नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्‍याउनु रहेको जनाएको छ ।

राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य ध्येय राखिएको छ । पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्ने नीति अख्तियार गर्ने घोषणापत्रमार्फत प्रष्ट पारेको छ । उज्यालो नेपाल पार्टीले नेपालको उज्यालो भविष्यका लागि निर्वाचन प्रणाली, संघीयता, शासकीय प्रणाली, न्याय प्रणालीमा सुधारका लागि संशोधनको प्रस्ताव पनि अघि सारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर स्वतन्त्र अभियानमा लागेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पनि घोषणासभामा सहभागी थिइन् । उनले वैकल्पिक शक्तिहरू नमिल्नु पुरानैका लागि रेड कार्पेट ओछ्याउनुसरह हुने टिप्पणी गर्दै आफू वैकल्पिक शक्तिहरूको एकताको पक्षमा लागिरहेको बताइन् । ‘भदौ २३–२४ गते जेनजी युवाले सडकबाट भनेको कुरा पुरानो राजनीतिक संस्कार पुग्यो भनेको हो । जब हत्केला मुठी बन्छ । पावरफूल हुन्छौं । छुट्टा–छुट्टै हिँडेर फरक–फरक बाटोमा जाने हो भने पुरानो पार्टीलाई रेड कार्पेट बिच्छ्याएर आउनुस्, फेरि त्यही रिपिट गर्नुस्, भन्ने हुन्छ,’ श्रेष्ठले भनिन्, ‘पुरानो पार्टीको संस्कारलाई निषेध गर्नका लागि सबैजना एकै ठाउँमा आउनुपर्छ । धेरैले सोध्छन्, सुमना कहाँ छ ? सुमना एकतामा छ ।’ श्रेष्ठ पार्टी घोषणाकै क्रममा उज्यालो नेपाल पार्टीको महासचिव बन्ने चर्चा थियो । तर, उनी अन्तिम समयमा पार्टीमा सहभागि भइनन् । केही समयपछि घिसिङ मन्त्रीबाट राजीनामा दिएर पार्टीमा सक्रिय बन्ने उज्यालो नेपाल पार्टीका केही नेताहरूले बताएका छन् । स्रोतका अनुसार उज्यालो नेपाल पार्टीले भावी प्रधानमन्त्रीका रुपमा घिसिङलाई अघि सारेर फागुन २१ गतेको निर्वाचनमा जाने गृहकार्य गरेको छ ।

ऊर्जामन्त्री घिसिङले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने अभियानमा छौं’ भनिरहँदा बुधबार श्रेष्ठको उपस्थितिलाई अर्थपूर्ण ठानिएको छ । श्रेष्ठ अहिले बालेनसँग नजिक छिन् । 

घोषणापत्रमा के छ ?

  • मन्त्रालय संख्या पुनरावलोकन गरौं, संसद सदस्य नभएका विज्ञलाई मन्त्री बनाऔं । परराष्ट्र, गृह, कानून र रक्षामन्त्री संसद् सदस्यबाटै बनाऔं
  • प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रीमण्डल बनाऔं । प्रदेशमा सांसद नरहनेगरि स्थानीय तहका प्रमुख र उपप्रमुख रहने प्रदेश परिषद् बनाऔं
  • प्रधानमन्त्रीले कम्तीमा आधा कार्यकाल काम गर्नसक्ने सुनिश्चित गरौं । एउटै क्षेत्रबाट लगातार ३ पटक उम्मेदवार बन्न रोकौं । समानुपातिक र मनोनीत सांसद एक पटक मात्रै
  • स्थानीय तहको चुनाव गैरदलीय आधारमा गरौं
  • सरकार परिवर्तनसँगै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति नयाँ सरकारले तत्कालै चाहेमा तत्कालै रिक्त हुने व्यवस्था गरौं
  • मन्त्रालयको प्रशासनिक नेतृत्वमा निश्चित प्रतिशत संख्यामा निजामती सेवा बाहिरबाट विज्ञहरू नियुक्त गरिनुपर्छ
  • विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गरिनुपर्छ । देशभित्र मतदान केन्द्ररहेकालाई आफू रहेकै स्थानबाट मतदान गर्न पाउने व्यवस्था गरिनुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्