नेभिगेशन
प्रदेश

क्षमता प्रस्फुटन गर्दै व्यावसायिक अवसरतर्फ

अपांग प्रतिभा खोजी कार्यक्रम

विराटनगर । अपांगता भएका व्यक्तिहरूको सीप, क्षमता र कलालाई प्रस्फुटन गर्दै  उनीहरूलाई व्यावसायिक अवसरतर्फ उन्मुख बनाउन विराटनगरमा ‘अपांग प्रतिभा खोजी तथा प्रस्फुटन कार्यक्रम’ सम्पन्न भएको छ । ३४औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आयोजित कार्यक्रममा ६५ जनाले प्रतिभा प्रस्तुत गरेका थिए ।

राष्ट्रिय अपांग महासंघ कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल र संगीत साधना प्रतिष्ठान इटहरीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा गायन, नृत्य, अभिनय, साहित्य, वक्तृत्व, चित्रकला, हस्तकला तथा नवपरिवर्तनसहित नौ विधामा प्रस्तुति गराइएको थियो ।

कोशी प्रदेशका २१४ जनाले आवेदन दिएका मध्ये ७१ जना प्रतिस्पर्धी छनोट गरी चार दिनसम्म विज्ञ प्रशिक्षकमार्फत विशेष प्रशिक्षण दिइएको थियो । प्रशिक्षणपछि अन्तिम प्रस्तुतिमा सहभागी प्रतिभाहरूले मन छुने प्रस्तुति दिएपछि कार्यक्रमस्थल उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रमका छनोटकर्ता तथा प्रशिक्षकहरूले प्रतिभावान् सहभागीलाई आफू–आफ्नो प्लेटफर्ममा अवसर उपलब्ध गराउने घोषणा गरेका छन् । यसले अपांगता भएका व्यक्तिहरूको प्रतिभा व्यावसायिक अभ्यासमा रूपान्तरण गर्न महत्त्वपूर्ण टेवा पुग्ने आयोजकहरूको विश्वास छ । सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै  आयोजकहरूले आगामी दिनमा अझै ठूलो स्तरमा कार्यक्रम विस्तार गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम अपांगता भएका व्यक्तिहरू प्रतिभा भएर पनि चुनौतीपूर्ण जीवन बिताइरहेको अवस्थालाई बदल्दै, उनीहरूको सीपलाई आम्दानीको माध्यममा परिणत गर्ने  दिशामा प्रभावकारी कदम भएको सरोकारवालाहरूको निष्कर्ष छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्