बीबीसी । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लागू हुने सामाजिक सञ्जाल प्रतिबन्धको आलोचनालाई ‘हतारमा गरिएको निर्णय’ भन्दै बालबालिकालाई अनलाइन सुरक्षामा जोड दिने बताएको छ ।
अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने बताएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने, ‘यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने प्रतिज्ञा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा असुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता गुनासो सुनेका छौं ।’
युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइनआउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाताबिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधाहरू जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङ भने पाउनेछैनन् । लर्डले भने, ‘हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छाैं ।’
युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा भने हट्ने छैन । अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने, ‘यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको बताइरहेको छ भने यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।’
विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् । अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूले ३२ लाख अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ ।